चिनियाँ अध्ययन टोलीले केरुङबाट रेल ल्याउन सम्भव रहेको ठहर



सैघाली खबर
काठमाडौं, २३ कार्तिक


चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ ।

अध्ययन पश्चात टोलीले काठमाडौं(पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्ता प्रकाशभक्त शर्माकाअनुसार स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरको प्रतिक्रिया थियो ।

‘पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएका छन् , अब बिहीबार यो टोलीले लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ,’ उनले भने,’चिनियाँ टोलीको प्रतिक्रियालेहामी पनि उत्साहित छौं ।’ केरुङ(काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली सोमबार काठमाडौं आएको हो । सोमबार देखि उनीहरुले निरन्तर रेलका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेको छ ।

नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ ।

तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना छ ।

नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र पर्छ, उक्त रेलमार्ग । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अगाडि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग त्यस सम्बन्धी सम्झौता भएको छैन ।

विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै उक्त रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ ।

चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ ।

चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मै रेल पुर्‍याएको छ । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपुर्‍याएको छ ।

चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने भन्ने छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमा केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ ।

केरुङ सीमाक्षेत्र समन्द्री सतहबाट २८०० मिटरको उचाइमा छ । जबकी नेपालमा १८०० मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रुपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्