कसरी हुन्छ कोठामा सामुहिक निधन ? चिकित्सकको भनाइ यस्तो छ हेर्नुहोस्



काठमाण्डौ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पुगे । राति खाना खाएर सुतेका उनीहरुमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भयो। चिसो कोठा तताउन ग्यास बालेर सुतेका उनीहरुको अक्सिनज अभावले मृत्यु भएको प्रहरीले जनाएको छ । कोठामा सुतेका आठैजना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरुका शवमा कुनै चोटपटक देखिएको छैन। पोष्ट मार्टमका लागि आठै शव फरेन्सिक विभागमा राखिएका छन् ।

विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीका अनुसार कमै हुने घटना हो दामनको घटना । गत मंसिर अन्तिम साता किर्तिपुर ८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए । जाडोमा एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ । पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामुहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्–१। फुड प्वाइजनिङ हुनु २। निसास्सिनु ।

‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर बालेर वा मकल बालेर बस्छन् । तातो वातावरणमा निदाउँछन्। सधैँका लागि निदाउन पुग्छन्,’ वस्ती भन्छन् । उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ । ‘दुर्घटनामा अन्य कारण छैन भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ,’ उनले भने । ‘विषाक्त ग्यासले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ । हलचल गर्न नपाउँदै ज्यान जान सक्छ,’ उनले भने, ‘सतर्कता अपनाउन पाउँदैन। सुतेको सुतै ज्यान जान सक्छ ।’

घटनाबारे दुःख व्यक्त

यसैबीच भारतीय विदेश मन्त्री एस जयशंकरले मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन् । ७ मंसिरमा ट्वीट गर्दै जयशंकरले भनेका छन्, नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु । काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ । दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन् ।

यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए । नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत् शव आफन्तको जिम्मा लगाउने भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्