जित संगै मनाङको शीर्ष स्थान कायमै




सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले साँघुरो जित निकालेको छ ।

शुक्र्बे भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो । त्यसअघि मनाङले पहिलो हाफमा गोल गरेपनि पोस्टको जाली प्वाल परेको कारण गोलको मान्यता पाएँन ।

खेलको १५ औं मिनेटमा निशान लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । तर, निशानको पावरफुल सटको कारण बल पोस्टको जालीबाट बाहिर निस्किएको थियो । पोस्टको जाली प्वाल परेको कारण बल जालीबाट बाहिर निस्किएपछि रेफ्री श्याम दनुवारले त्यसलाई गोलको मान्यता दिएनन् । त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए ।

यस्तै खेलको ५६ औं मिनेटमा मनाङका कमल श्रेष्ठको फ्रिकिक सरस्वतीका गोलकिपर प्रदिप भण्डारीले पन्च गर्दै बाहिर पठाएका थिए । यस्तै ६५ औं मिनेटमा विमलको कडा प्रहार सरस्वतीका किपर प्रदिपले बचाउँदा मनाङ फराकिलो जित निकाल्नबाट चुकेको थियो ।

सरस्वतीमाथि संघर्षपूर्ण जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । तर, मनाङ गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । आर्मी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहदा मछिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्