के हो कोरोना भाइरस ? चीनदेखि अमेरिकासम्म, नेपालमा पनि त्रास



बेइजिङ । चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।

चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म ५ सय भन्दा धेरै चिनियाँ प्रभावित छन् । पछिल्लो समय चीन लगायत छिमेकी मुलुकमा पनि यसबाट बच्न उच्च शतर्कता अपनाइएको छ ।

कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । चिनियाँ वैज्ञानिकहरुले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दैआएका छन् ।

के हो कारण ?
कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

के हो कोरोना ?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना भाइरस अमेरिकामा पनि
चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।

ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।
यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

यससँगै नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको छ । यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको छ । चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइयो । यसवाहेक चीनबाट आउने अन्य नागरिकलाई पनि प्रारम्भिक जाँच गर्न थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्