पार्टी एकता भइसक्योः प्रचण्ड , अव रुख खोज्न डडेलधुरा जानुहोस्



सैघाली खबर
चितवन, २३ कार्तिक । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइसकेको बताएका छन् ।
चुनाव प्रचारका सिलसिलामा चितवनमा आयोजित महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले तालमेल भाँड्न प्रतिक्रियावादी ‘घाउ खोज्दै हिँडेको’ दृष्टान्त पस्किए । सो अवसरमा उनले तालमेल घोषणा गरेजस्तै पार्टी एकता गर्ने जानकारी दिएका थिए ।

“अस्ति चुनाव सर्ने हल्ला आइरहँदा म र केपी ओली, माधव नेपाललगायत नेताहरूसँग पार्टी एकता गरेर चुनावमा जाने हो कि भन्ने विषयमा छलफल भएको थियो,” उनले भने, “तपाईं कार्यकर्ताहरूमा द्विविधा छ, मैले बुझेकोे, तर हामी अन्योलमा छैनौँ ।”

तालमेल गरेर चुनावमा जाने र त्यसपछि पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढ्नेबित्तिकै देशभित्र र देश बाहिरका प्रतिक्रियावादी अताल्लिन थालेको बताउँदै अध्यक्ष प्रचण्डले एकतालाई निष्कर्षमा पुर्याउन कार्यकर्ताले पनि दबाब दिनुपर्ने औँल्याए ।

उनले कार्यकर्ताका बीचमा ‘सेबोटेज’को खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै पार्टी एकता हुनेमा संशय नपाल्न आग्रहसमेत गरे ।

निर्वाचन प्रचार–प्रसारको सिलसिलामा चितवन आएका प्रचण्डले एमाले–माओवादीको बीचमा युद्धकालदेखि नै पटकपटक वार्ता भएको जानकारी दिँदै १२ बुँदे समझदारीपूर्व नै एमालेसँग सहमति भएको खुलासा पनि गरे ।

“एमाले र हामीबीच कतै नमिठो घटना पनि भयो । तर, एमाले र हामीबीच जनमुक्ति सेनाको घेराबीचमा रोल्पाको लोसेवाङमा समझदारी भयो । त्यो १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौतासम्म विस्तार भएको हो,” उनको प्रष्टिकरण थियो ।

उनले ०४६ सालको परिवर्तनपछि एमालेका तत्कालिन महासचिव मदन भण्डारी र आफूबीच पार्टी एकता गर्ने कुरा अघि बढेको भए पनि बीचमै भण्डारीको देहावसान भएकाले रोकिएको बताए ।

कम्युनिष्टको हातमा डाडुपन्यु

एमाले– माओवादी नमिल्दा कांग्रेसको फेरो समातेर सत्तामा त जान सकिने तर कम्युनिस्टको हातमा डाडुपन्यु नआउने बताउँदै बैधानिक बाटोबाट समाजवादको यात्रा तय गर्न दुई पार्टी मिल्नुपरेको उनको भनाइ थियो ।

परिवर्तन नचाहने शक्तिले फुटाऊ र राज गरको नीति लिई मुलुकलाई स्थायित्वको दिशा लिन नदिएकाले पार्टी एकतामा जाने निष्कर्ष निकाल्नु परेको उनको आसय थियो ।
उनले दुई कम्युनिस्ट पार्टीबीचको एकताले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ उचाइ कायम गर्नेमात्र नभइ विश्वलाई सन्देशसमेत दिने बताए ।

चितवन–३ जितिसक्यौँ

चितवन–३ का प्रतिनिधिसभाका उमेदवारसमेत रहेका प्रचण्डले आफूले चुनाव जितिसकेको जानकारी दिए । “सय डेढ सय महिला हुनुहोला भनेर आएको थिएँ । हलमा हजारभन्दा बढी महिला हुनुहुँदो रहेछ,” महिला भेलामा उत्साहित हुँदै प्रचण्डले भने, “चितवन–३ वाम गठबन्धनले जितिसकेको छ ।”

महिला उमेदवार छैनन् भनेर निराश नहुनुस्
चितवनको ३ क्षेत्र र ९ सिटमा प्रत्यक्षतर्फ एकजना पनि महिला नभएकोमा दुःखमनाउ नगर्न उनले महिलाहरूलाई अपिल गरेका थिए ।

२०३६ सालको आन्दोलनदेखि नै महिलाको भूमिका अग्रणी रहेको बताउँदै एमाले र माओवादीकै कारण महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको तर्क उनले गरे ।

एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले विद्या भण्डारीलाई राष्ट्रपति बनाउन र ओनसरी घर्तीलाई सभामुख बनाउनुमा आफूहरूको भूमिका रहेको बारे प्रकाश पारेका थिए ।
त्यस्तै उनले सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउन पनि एमाले माओवादी केन्द्रकै दबाब रहेको दाबी गरे ।

रुख खोज्न डडेलधुरा जानुस्

एमाले स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नम्बर १ का उमेदवार सुरेन्द्र पाण्डेले चितवनमा कांग्रेस निमिट्यान्न भएको बताउँदै रुख खोज्न डडेलधुरा जानुपर्ने बताए ।
“कांग्रेसका साथीहरूलाई अनुरोध गर्छु, चितवनमा कांग्रेस छैन । अलिअलि भएका पनि गठबन्धनपश्चात् वाममा मिसिए । रुख खोज्न डडेलधुरा जानुहोला,” उनले कार्यक्रममा अभिव्यक्ति दिए ।

बिहीबार नै राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा ९प्रजातान्त्रिक० का २०० युवाहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् । अनेमसंघ र अनेमसंघ ९क्रान्तिकारी० को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा ९प्रजातान्त्रिक० का २०० युवाहरु वाम गठबन्धनमा प्रवेश गरेका हुन् । उनीहरू सबैलाई अध्यक्ष पुष्षकमल दाहाल र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गठबन्धनमा स्वागत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्