ओली-प्रचण्डबीच एमसीसी सोझै सदनमा टेबुल गर्ने समझदारी



काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच समझदारी भएको छ ।

नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी अनुमोदन गराउन समझदारी भएको हो ।

बिहीबार दुई अध्यक्षबीच भएको छलफलमा एमसीसीलाई सचिवालयमा नलगी सोझै संसदमा टेबुल गर्ने समझदारी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेकपा भित्रै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र मतभेद भइरहेका बेला अध्यक्षद्वयले जिम्मेवारी लिएर आवश्यक बुँदा परिमार्जनसहित एमसीसीको प्रस्ताव सोझै संसदमा लैजाने भद्र सहमति गरेको रिमालले बताए ।

दुई अध्यक्षबीचको समझदारीपछि आज (शुक्रबार) नवलपरासीमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसीसीका केहि बुँदा परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने बताएका थिए ।

उनले पार्टीका कार्यकर्ता समक्ष नेकपाले राष्ट्रिय हीत विपरीतका कुनै सम्झौता स्वीकार्य नहुने बताउँदै एमसीसीबारे अमेरिकासँग संवाद गरेर आवश्यक परिमार्जन सहित अघि बढ्ने बताएका छन् । यता नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भने एमसीसीका विषयमा सचिवालयमा कुनै छलफल नभएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्