तामाङ समुदाले आज ल्होछार पर्व मनाउँदै, टुँडिखेलमा विशेष कार्यक्रम



काठमाण्डौ । तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

१२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् । तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा शनिबार सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली, तामाङ जातिको मौलिक वेशभूषा र खाना प्रदर्शनी सांस्कृतिक गतिविधि लगायत विभिन्न कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार भइरहेको उहाँले बताउनुभयो । यसैगरी काठमाण्डौको स्वयम्भू क्षेत्र र टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ्ग घेदुङ संघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्