राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डले दिए सोनाम ल्होसारको शुभकामना, यस्तो छ सन्देश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गरेकी छन्। उनले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको उल्लेख गरिन्।

शुभकामना सन्देशमा भनिएको छ, ’यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन्, यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।’

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ’सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु, साथै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु। चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले शुभकामना तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार–२८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्म्निरपेक्ष राष्ट्र हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।’

उनले देशको आर्थिक समृद्धिको चरणमा भएकोले लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताएका छन् । उनले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव भएको जिकिर गरेका छन् ।

उनले यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्