४० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । बैंकले शुक्रवार एक सूचना मार्फत यस पटक ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको हो ।

पाँच वर्षमा परिपक्व हुने यो बचतपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरमा प्रत्येक ६ महिनामा व्याज भुक्तानी लिन सक्ने बताइएको छ । व्याज बचतकर्ता स्वयं वा इच्छाएको व्यक्तिले लिन पाउने छ ।

वैदेशिक रोजगार बचतपत्र २०८१ क, ख, ग नाम दिइएको बचतपत्र खरिद गर्न आगामी चैत २१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बचतपत्रको साँवा भुक्तानी २०८१ साल माघ २७, फागुन २८ र चैत २७ गते हुने तोकिएको छ ।

राष्ट्र बैंकले प्रतिफलयुक्त र आकर्षक दावी गरेपनि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीबीच बचतपत्रका बारेमा उचित जनचेतनाको अभावका कारण यस तर्फ आकर्षित भने हुन सकेका छैनन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्र वैदेशिक रोजगारीमा रहेको वा वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना ननाघेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न पाउने छन् ।

सूचना अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी जतिपनि रकमसम्मको बचतपत्र खरिद गर्न सकिने छ । उक्तपत्र धितो राखेर वित्तीय कम्पनीबाट ऋण निकाल्न समेत सकिने बैंकको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका कामदारको पूँजी राष्ट्र निर्माणमा लगाउने बचतपत्रको मुख्य उद्देश्य हो । सोही उद्देश्य अनुरुप बैंकले आर्थिक वर्ष २०६६र२०६७ बाट वैदेशिक रोजगार बचतपत्र बिक्री शुरु गरेको हो ।

आर्थिक वर्ष २०७४र७५ सम्म वैदेशिक रोजगार बचत पत्रको बिक्री जम्मा ५ दशमलव २९ प्रतिशतमा सिमित देखिएको थियो । बचत पत्र सिटिजन्स बैंक ,नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटका केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट पनि खरिद गर्न सकिने छ ।

त्यसैगरी बचतपत्रमा नेपाल बाहिर कतार, साउदी अरब, भारत, यूएई, दक्षिण कोरिया, जापान, मलेसिया, इजरायल, अमेरिका, टर्कीलगायत मुलुकबाट पनि विभिन्न रेमिट सेवाका सम्पर्क कार्यालय मार्फत खरिद गर्न पाउने राष्ट्र बैंकले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्