हात्तीपाइले रोग निवारणमा चुनौती,औषधी सेवनमा राप्ती गाउँपालिका कमजोर !



ओमप्रकाश गुप्ता ,सिसहनियाँ । सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरे पनि सर्वसाधारणले औषधी नखाइदिनु सबैभन्दा ठुलो चूनौती भएको छ ।

शुक्रबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोग निवारण सम्बन्धी गाउँपालिका स्तरीय समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्तीपाइले (फाईलेरिया) रोग फैलनबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउनु तथा हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको सहभागीहरुलाई जानकारी गराएका थिए । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।

हात्तीपाइले (फाईलेरिया) रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत माघ २५ गतेदेखि स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई औषधी सेवन गराउने कार्य सुरु हुदैंछ । रोगको संक्रमण हुनबाट बचाउनु यो रोगबाट प्रभावित जिल्ला भित्र बसोबास गर्ने औषधी खान योग्य सबै जनसमुदायलाई रोग विरुद्धको औषधी (डी.इ.सी. र अल्वेन्डाजोल) चक्की वर्षको एक एक पटक गरी चार देखि छ वर्षसम्म खुवाउने र रोग ब्यवस्थापन तथा अपाङ्गता रोकथामका लागि रोग लागि सकेका विरामीहरुलाई सरल तथा प्रभावकारी स्वम उपचार विधि अपनाउन लगाउने यसको रणनीति रहेको छ ।

हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधीहरुका बारेमा जानकारी गराउदैं चन्दले (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई जानकारी गराएका थिए । डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) गत पाँच दशक पहिले नै विकास भै हालसम्म औषधी उपचार प्रयोगमा आइरहेको र अल्बेन्डाजोल गत अढाई दशक देखि प्रयोगमा आइरहेको औषधी भएको बताए यो औषधि (चक्की) पेट, आन्द्रामा हुने विभिन्न थरिको जुकाको उपचारको लागि प्रयोग भइरहेको औषधी हो ।

औषधी खाँदा वा खुवाउँदा याद राख्नु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी दिए ।
कार्यक्रममा यी दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानु पर्ने र खालीपेटमा औषधी खान नहुने बताए । दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधि सेवन गरिरखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकाहरु) ले उक्त औषधी सेवन गर्न नहुने बताइएको थियो ।

अहिले पनि राप्ती गाउँपालिकामा ६७ प्रतिशतले मात्र यो औषधी खाने गरेका छैन। औषधी खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अभियान सञ्चालन गरेर टोल टोलमा गएर यो औषधि खानुहोस् भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा चूनौति बनेको स्वास्थ्य शाखा संयोजक नारायण राउतको भनाई छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधी खुवाउने अभियान सञ्चालन गदैं आएको छ । फोकल पर्सन चन्दले क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । उनका अनुसार हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ ।

यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ वर्षपछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधीलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने छ ।

जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने गरेको स्वास्थ्यकर्मीहरू बताउछन् । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ । हालसम्म १२ करोड मानिस यो रोगबाट संक्रमित भइसकेका छन् । यता राप्ती गाउँपालिकाको वडा नम्बर ८ मा हात्तीपाइले विरूद्वको औषाधी सेवनमा कमजोर देखिएको कारण दाङ जिल्ला फेल हुँदै आएको छ ।

राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्बाकुमारी चौधरी ,निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्