नेपालको कम्युनिस्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने :नेकपा अध्यक्ष ‘प्रचण्ड’



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको रहेको बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा शनिवार गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ विषयक पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट क्रान्ति पुरानो पूँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भन्दा भिन्न प्रकृतिको भएको बताएका हुन्।

‘हामीले नेपालमा जे अनुभव गर्यौँ, जे हासिल गर्यौँ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछौँ, त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन’, उनले भने, ‘हामीले आफैले आफ्नो जीवनमा संघर्ष, बलिदान, मेहनत र त्यागबाट हासिल गरेका विश्व भरिका अनुभवहरुको अध्ययन गरेर नेपालमा जे प्रयोग गरेका छौँ यही विषयलाई गम्भीरता पूर्वक विचार गर्नुहोला।’

पुँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएको बताउँदै उनले नवजनवादी वा पुरानो पुँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी गरे।

अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालिन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्