सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्छ : पूर्वराष्ट्रपति डा. यादव



भक्तपुर : पूर्वराष्ट्रपति डा. रामवरण यादवले सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्।

सामुदायिक विद्यालय तथा कलेज देश विकासका आधार भएको स्पष्ट पार्दै उनले यहाँको शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका हुन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञ शनिबार उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले सामुदायिक विद्यालय तथा कलेजले दिने शिक्षाको गुणस्तरमा जोड दिएका हुन्।

‘देशका ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्छन्’, उनले भने, ‘तर ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षा राम्रो छैन।’

चाँगुनारायण माविमा प्राविधिक शिक्षाको अध्यापन गर्ने गराउने उद्देश्यले आर्थिक संकलन गर्न आयोजि महायज्ञको पहिलो दिन उनले देशका ८० प्रतिशत किसान तथा मजदुरका छोराछोरी पढ्न् सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको सुधारविना देश विकास नहुने स्पष्ट पारे।

माध्यमिक तहसम्मको शिक्षाको दायित्व नगरपालिकामा आएकाले सोहीअनुसार यसको गुणस्तरमा जोड दिन उनले आह्वान गरे।

उनले नेपालको विश्वविद्यालयको शिक्षासमेत धेरै खतम भइसकेको गुनासो गरे। ‘हाम्रो पालामा त्रिभुवन विश्वविद्यालयको इज्जत थियो, आज त्यो छैन’, पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले त विश्वविद्यालयको शिक्षा पनि धेरै खत्तम भइसक्यो। सामुदायिक कलेजहरुको पढाइ खस्कँदै गएको छ।’

शिक्षासँगै स्वास्थ्य क्षेत्रसमेत भद्रगोल रहेको भन्दै उनले दुखेसो पोखे। आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा र अहिलेको स्वास्थ्य अवस्थामा कुनै सुधार नभएको पूर्वराष्ट्रपति यादवको भनाइ छ।

त्यस्तै वातावरण विनाश बढिरहेको भन्दै उनले शिक्षा, स्वास्थ्यको सुधार र वातावरण संरक्षणमा योजनाबद्ध कार्य गर्न सरकार तथा स्थानीय तहहरुलाई आग्रह गरे।

कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भँडेलले आफ्नो संसद विकास कोषबाट चाँगुनारायण माविलाई दस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे।

चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्रले विद्यालयलाई आवश्यकताअनुसारको सहयोग गर्न आफूहरु तयार रहेको सुनाए।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले विकास, शिक्षा र स्वास्थ्यमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे।

विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्य पूरा गर्न महायज्ञ गरिएको जानकारी दिए।
उनले महायज्ञबाट करिब एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताए।
विद्यालयमा सिभिल, कम्प्युटर र कृषिसम्बन्धी डिप्लोमा इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ थियो।

विहान कलशयात्रापछि गरिएको महायज्ञ उद्घाटनमा २५ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गर्ने नेपाल सरकारका सचिव महेश्वर न्यौपानेसँगै १५ हजारभन्दा माथि सहयोग गर्नेहरुलाई पूर्वराष्ट्रपति यादवले सम्मान गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्