बाल विकासबाटै शैक्षिक गुणस्तर सुधार्न मेयरको निर्देशन



सैघाली खबर
घोराही,२५ कार्तिक

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बाल विकास शिक्षाको तहबाटै शैक्षिक सुधार गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ ।

जिल्ला शिक्षा कार्यालय दाङले शुक्रबार उपमहानगरमा आयोजना गरेको बित्तिय हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बाल शिक्षाको जगबाटै शैक्षिक गुणस्तर काम गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको हो ।

सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कनु र अभिभाबकहरुको आकर्षणमा निरासा हुनु चुनौतीपूर्ण बिषय भएको उहाँको भनाई छ ।

त्यसका लागि अब बाल बिकास तहबाटै शिक्षामा गुणस्तरीयता र सुधार ल्याउन उहाँले प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको हो ।

विभिन्न विद्यालयहरु गाभ्नु पर्ने अबस्था आएको प्रति संकेत गर्दै नगर प्रमुख चौधरीले विद्यार्थीलाई टिकाउने र अभिभाबकलाई बिश्वास जगाउने शिक्षा अहिलेको आबस्यकता भएको बताउनुभयो ।

पैसा र बिभिन्न सेवा सुबिधा दिएर पनि विद्यालय नआउने तर पैसा धेरै तिरेर निजि स्कुलहरुमा जानेको संख्या बढ्दो रहेको भन्दै अब पैसा नभई गुणस्तरीय शिक्षा दिन तर्फ आफुहरुले निति बनाउने जानकारी समेत दिनुभयो । अब विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाई सुरु गर्नुपर्ने बाध्यता आएको समेत बताउनुभयो । शिक्षकहरुलाई अब अंग्रेजी बोल्न, लेख्न र पढ्न समेत सिक्ने बाटोमा अघि बढ्न निर्देशन दिनुभएको छ ।

शिक्षाको बजेट उपमहानगरमा हस्तान्तरण
यस अघि जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम तथा बजेटहरु स्थानिय तहमा हस्तान्तरण भएको छ । जिल्ला शिक्षा कार्यालय दाङले शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि घोराही उपमहानगरमा आर्थिक बर्ष २०७४÷७५ को बजेट स्थानिय तहमा हस्तान्तरण भएको जानकारी दिएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा कार्यालयका शाखा अधिकृत देवमणि चौधरीले यस अघि शिक्षा कार्यालयमा आउने बजेटहरु सबै जिल्लाका दश वटै तहमा हस्तान्तरण भएको जानकारी दिनुभएको हो । घोराही उपमहानगरपालिकामा रहेका विद्यालय, शिक्षक, बिद्यार्थीहरुको अनुपातमा बजेट आएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा शिक्षा कार्यालयबाट विद्यालय निरीक्षक नारायणप्रसाद पौडेल प्रमुखकोरुपमा आउनुभएको छ । घोराही उपमहानगरपालिकामा १ सय ७६ वटा विद्यालयहरु रहेका छन् । कार्यक्रममा उपमहानगर शिक्षा शाखा प्रमुख पौडेलले अब शिक्षाको जिम्मेवारी स्थानिय तहमा गएको जानकारी दिनुभयो ।

यस अघि शिक्षा कार्यालयमा हुने कामहरु अब स्थानिय तहबाट सञ्चालन हुने पनि जानकारी दिनुभयो । उपमहानगर भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई छलफलमा बोलाई शिक्षा कार्यालयले वित्तिय हस्तान्तरणको बारेमा जानकारी दिएको हो । कार्यक्रमको सहजिकरण स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्