नारायणगढ–मुग्लिन सडकखण्ड आज दिनभरी बन्द रहने



सैघाली खबर
काठमाडौं,२५ कार्तिक
चितवनको नारायणगढ–मुग्लिक सडकखण्ड अन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगा पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टानले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ ।

आयोजनाका इन्जिनियर शिव प्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न सवारी चालक र यात्रुहरुलाई अनुरोध गर्नुभएको छ । भोलिदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।

आइतबार देखि एकहप्ता परीक्षण स्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि सो सडक चौडा पार्ने काम शुरु गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्