वडा कार्यालयद्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग



रमेश विश्वकर्मा, गुल्मी / जिल्लाको रेसुङ्गा नगरपालिका २ वडा कार्यालयले विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । वडा कार्यालयले रेसुङ्गा माध्यमिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच दुई लाख आर्थिक सहयोग गरेको हो ।

प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई २ हजार ७ सय ५० का दरले र माध्यमिक तहमा अध्ययन गर्ने २८ जना विद्यार्थीलाई ३ हजार ५ सयका दरले आर्थिक सहयोग गरिएको वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर थापाले जानकारी दिए ।

दलित, गरिव र विपन्न परिवारका विद्यार्थीहरु शिक्षाबाट बञ्चित नहुँन भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष थापाले बताए । उनले भने ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सानो सहयोगले महत्वपूर्ण टेवा पुग्नेमा आफुहरु विश्वस्त रहेका छौं ।’ वडाका सबै बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउने योजनाका साथ वडाले शिक्षालाई प्राथमिकतामा राखेको वडा अध्यक्ष थापाले बताए । ‘स्थानीय सरकार निर्माण भएका छन्, जनताले जनप्रतिनिधिहरुलाई विकासका लागि जिम्मा दिएका छन ।’

विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले विपन्न विद्यार्थीहरुलाई वडाले गरेको सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गरे । प्रधानाध्यापक भण्डारीले आर्थिक अवस्था कमजोर भएका कारण बीचमै कक्षा छोड्ने विद्यार्थीहरुका लागि वडाले गरेको सहयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्यहरु कृष्ण बहादुर थापा, शेर बहादुर विश्वकर्मा, गंगा थापा, नारायणी पाध्यवती, विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारी, विद्यालयका अन्य शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्