मुख्य समाचार

बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या

By थाहा अनलाइन

November 11, 2017

सैघाली खबर, रोल्पा २५ कात्तिक। रोल्पामा बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ। रोल्पा नगरपालिका ७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले छोरीसहित २ नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्।

२५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीले बताए ।

छोरी पबावती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन्। पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन्। लिलबहादुरले पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए। ‘बञ्चरो प्रहार गरेर छोरीको हत्या गरेका हुन। परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो। गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई रहेको छ।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट सई तिलकप्रसाद कलौनीको नेतृत्वमा प्रहरी घटना थल राती नै पुगेको थियो । घटना मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको छ । हत्या आरोपीलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।