रसुवामा चिज उत्पादन वृद्धि



रसुवामा यो वर्ष चौंरीगाईको दूधबाट बन्ने चिज उत्पादन विगत वर्षको अनुपातमा बढेको छ । साढे चार वर्षअघि गएको भूकम्पका कारण उत्पादनमा ह्रास आएको थियो । भूकम्प गएको दुई वर्षसम्म न्यून चिज उत्पादन भएको थियो ।

जिल्लामा चारवटा उत्पादन केन्द्रबाट यो वर्ष ३९ हजार ६ सय ८० किलो याक चिज उत्पादन भएको छ । जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा आएका छन् । गत वर्षदेखि थुमन र तातोपानीमा चिज उत्पादन थप भएका थिए । तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चिज तथा मखन उत्पादन गर्दै आएका छन् । चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चिज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका हुन् ।

संस्थानले रसुवाको चन्दनबारी, धुन्चेको पाङलेखर्क, गत्लाङ र लाङटाङ गरी चार स्थानबाट चिज उत्पादन गर्दै आएकोमा गत वर्षदेखि दुई स्थान थप गरेको हो । लाङटाङमा यस वर्ष चार हजार किलो चिज र नौ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए । पछिल्लो समय केन्द्रले दूधको मूल्य बढाएको र चौंरी पाल्ने कृषक पनि बढेका कारण उत्पादन बढ्दै गएको पाङलेखर्क चिज उत्पादन केन्द्रका प्रमुख जितबहादुर जिरेलले बताए ।

चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना मात्र उत्पादन हुन्छ । अहिले चिज उत्पादन बन्द भएको प्रमुख जिरेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्