प्रदेश २ का प्रत्येक सांसदलाई ल्यापटप दिईने




प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन् । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो ।

ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले बताए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए ।

‘एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’ सभामुख यादवले अनलाइनखबरसँग भने, ‘कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं ।’

सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन् ।

कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् । कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्