गाउँमै निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी, शिविरमा आएका मध्ये उच्च रक्तचापका बिरामी धेरै



 

ओमप्रकाश गुप्ता, सिसहनियाँ  । दिलमाया बोहरालाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचापले स्वास्थ्यमा के समस्या ल्याउँछ भन्ने कुरा पनि थाहा छैन् । थला नपरुन्जेल सम्म अस्पताल जाने बानी उनीमा छैन् । गढवा गाउँपालिका १ कालाकाटे निवासी ७५ वर्षिय बोहरा गाउँमै स्वास्थ्य शिविर आएको छ भन्ने थाहा पाएपछि उनी स्वास्थ्य जाँच गराउन शिविरमा गइन् । स्वास्थ्यकर्मीले उनको प्रेसर चेक गरे चेकका क्रममा उनमा उच्च रक्तचाप भएको पाइयो । त्यसपछि उनको मधुमेह पनि चेक गरियो तर मधुमेह भने नभएको स्वास्थ्यकर्मीले बताए ।

त्यसपछि उनलाई शिविरमा खटिएका डा. प्रभात जिसीले स्वास्थ्यमा देखिएको समस्याका बारेमा परामर्श दिए । एकै पटक ३ वटा सेवा लिन पाएपछि बोहरा निकै खुसी भइन् । उनले भनिन् हामी जस्ता अशिक्षित महिलाहरुलाई यस्ता कुरा के थाहा आज बल्ल थाहा भयो स्वास्थ्य परिक्षण बिरामी भएर मात्र नभई ३/३ महिनामा चेकजाँच गराउनु पर्छ भन्ने कुरा । उनी जस्तै सोही ठाउँ निवासी सावित्रा श्रेष्ठलाई भने उच्च रक्तचाप र मधुमेह दुवै भएको समस्या देखा परेको छ । यी त उदाहरणीय पात्र मात्र हुन् । उनीहरु जस्तै शिविरमा आएको थुप्रै सेवाग्राहीहरुमा उच्च रक्तचाप, मधुमेहका बिरामी फेला परेका छन् । रोगले थला परेपछि मात्र स्वास्थ्य परिक्षण गराउँने बानीले अधिकाशं मानिसहरुमा मधुमेह र उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

बुधवार दाङ देउखुरीको जनता मावि गढवा गाउँपालिका १ कालाकाटेमा भएको निशुल्क रक्तचाप,मधुमेह तथा रक्त समुह परिक्षण शिविर सम्पन्न भएको छ । मेरो एक कदम समाज सेवा तर्फ भन्ने मुल नाराका साथ आशाका किरणहरू नामक संस्था राप्ती गाउँपालिकाको आयोजना एवम् गढवा गाउँपालिका वडा नम्बर १ को सहआयोजना र लाइन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ र लियो क्लव अफ बुटवल,मणिमुकुन्द युथको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा जेष्ठ नागरिक,वयस्क र विद्यार्थीहरुहरु गरी ५ सय जना भन्दा बढीले सेवा लिएका थिए । जसमा ३ सय ८२ जनाको सुगर र प्रेसर चेक गरिएको थियो भने ३ सय जनाको रक्त समुह परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये अधिकाशंको उच्च रक्तचाप भएको पाइएको छ । भने रक्त समुह परिक्षण समेत गरिएको थियो । संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् गढवा गाउँपालिका गाउँ कार्यपालिकाकी सदस्य हेमन्ती कुमालको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । शिविरमा डा.प्रभात जिसी, एच.ए उज्वल बस्नेत,सुर्यकिरण केसी,विनोद गौतम र ल्याप भरतजंग क्षेत्रीले स्वास्थ्य चेकजाँच गरेका थिए । शिविर उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्