गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा ३५ विधेयक



गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन सम्पन्न भई पाँचौँ चालु रहेको जानकारी गराउनुभयो ।

उहाँका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा नौ, दोस्रोमा १३, तेस्रोमा छ, चौथोमा छवटा विधेयक पारित भएका थिए । चालु अधिवेशनमा एउटा विधेयक पारित भएको छ । दुईवटा विधेयक विधायन समितिमा दफवार छलफलका क्रममा छन् । दुईवटा प्रदेशसभामा विचाराधीन छन् । यसबीचमा भौतिक पूर्वाधारका काम अघि बढेको बताउँदै उहाँले प्रदेशसभाका समिति र संसदीय दलको कार्यालय सञ्चालनका लागि प्री–फ्याब भवनको निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।

प्रदेश अन्तर्गतका जिल्ला समन्वय समितिसँग भिडियो कन्फरेन्सको माध्यमबाट सम्पर्क स्थापनाका लागि युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा कन्फेरेन्सिङ हल स्थापना भएको उहाँले बताउनुभयो । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा सभाका काम प्रभावकारी रुपमा अघि बढेको बताउँदै धेरैजसो ऐन सर्वसम्मत रुपमा पारित भएको उल्लेख गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्