को हुन् त विश्वकर्मा जाति ?

टप फिचर फिचर विचार

• सरोजदिलु विश्वकर्मा
साधारण अर्थमा कामी जातिको पर्यायवाची शब्द नै विश्वकर्मा हो । अर्थात विश्वकर्मा भनेका पानी नचल्ने तल्लो जात र दलित समुदायको एउटा जाति हुन् भन्ने बुझाई छ । तर विश्वकर्मालाई यति सीमित घेराभित्र मात्र बुझ्दा न्याय हुदैन । भारतको इतिहास र हाम्रो तराई क्षेत्रको सामाजिक संस्कृतिलाई हेर्दा त्यहाँ विश्वकर्माहरु हुनेखाने वर्गमा पर्दछन् र उनीहरुमाथि खासै छुवाछूत छैन । नेपालको पहाड क्षेत्रमा आइपुग्दा यिनलाई दलित समुदायभित्रका वाहुन वर्ग भनेर कसैले आरोप लगाउने गरिन्छ । तर त्यसो पनि नभई विश्वकर्मा भनेका कला, सीप, साहित्य र शालिन संस्कृति भएको तथा उत्पादनसंग जोडिएर समाजको निर्माण गर्ने कामी (सुनार)सहित दलितभित्रका अन्य जाति पनि हुन् । अझ, दलित आन्दोलनका दिग्दर्शक भगतसर्वजीतले समाज निर्माणको दायित्व वहन गरेर पनि विभिन्न विभेद भोगिरहेका जातिहरु सवै विश्वकर्मा हुन् भन्ने हिसावले ब्याख्या गर्दै वि.सं. २००३ सालमा विश्वसर्वजन स्थापना गरेर मुक्ति आन्दोलनको आरम्भ गरेका थिए । हाम्रो साहित्य र संस्कृतिले यो जातिलाई यसरी विश्लेषण गरेको छ ।

अध्यात्मिक साहित्यमा विश्वकर्मा : भारतका अध्येता विजय रामास्वामीको अत्यात्मिक विचारले भन्दछ— विश्वकर्मा भनेका असल कालीगढी र डिजाइनरहरु हुन्, जो ब्राम्हाका छोरा पनि हुन्, जसले रावणका लागि लंका, राधाकृष्णका लागि द्धारका, इन्द्रका लागि स्वर्गलगायत विश्वजगतको भौतिक निर्माण गरे । यसका अतिरिक्त उनले देवादानवहरुका हातहतियार तथा देवहरुका लागि उड्ने रथहरुकोसमेत निर्माण गरे ।

महाभारतमा भनिएको छ— विश्वकर्मा भनेको कला र सीपका भगवान, हजारौहजार हस्तकला, काष्ठकला पहिरणका गरगहनाका निर्माता हुन्, जो कहिले मर्दैनन् । विश्वकर्मा ब्राम्हाका एकरुप हुन्, जसले स्वर्णमुकुट लगाएका, गहनैगहना लगाएका हुन्छन् । उनका ५ स्वरुप हुन्छन्, ४ हात हुन्छन् । एउटा हातमा पानीको भाडा, अर्कोमा पुस्तक, अर्कोमा डोरी र एकहातमा निर्माणका औजारहरु लिएका हुन्छन् । ५ स्वरुपले मनु, मय, त्स्वष्ता, सिल्पी र देवज्ञ नामले चिनिन्छ । देवज्ञलाई विश्वजना पनि भनेर बुझिन्छ । यी रुपहरुलाई विश्वकर्माको गोत्रकारुपमा पनि हेरिन्छ ।

यसैगरी केही हिन्दी साहित्यले विश्वकर्मा भनेका ब्राम्हाले श्रृजना गरेका वात्सोपति हुन्, जसलाई पछि वृहस्पती ऋषी पनि भनिन्छ, जो सौर्यका एक अंश हुन् र देवताहरुका गुरु पनि हुन् । विश्वकर्माले सवैभन्दा पहिले सत्ययुगमा देवताहरु बस्नका लागि स्वर्गको निर्माण गरे । ते्रतायुगमा कुवेरको आग्रहमा लंकाको निर्माण गरे । द्धापर युगमा द्धारिकाको निर्माण गरे । कलियुगमा हस्तिानापुर र इन्द्रप्रस्तको निर्माण गरे । साथै उनले भगवान शिवको आग्रहमा कैलाश पर्वतको निर्माण पनि गरेका हुन् भनिन्छ । विश्वकर्माले गायत्रीसंग विवाह गरे । जसबाट ५ छोरा (मनु मय, स्वष्ता, सिल्पी र देवज्ञ) र २ सञ्जना र ब्राहस्मती नामका दुई छोरीहरु जन्मे । सञ्जनाले सुर्यको छायाँसंग विवाह गरिन् भने ब्राहस्मतीले प्रियवर्तसंग विवाह गरिन् । वुद्धि, विद्या, विवेक र वल नै विशवकमर्मा तत्व हो । सो विधाका आधारमा विश्वकर्माहरुले फलाम, काँस, सुनचादी, ढुंगा र काठका साम्रग्रीहरको निर्माण गर्दछन् ।

विश्वकर्मा ‘विश्वकर्मन्’ धातुबाट आएको नामवाचक शब्द हो । अर्थात यसले विश्वमा आवश्यक पर्ने सवै काम गर्ने भन्ने जनाउछ । भारतमा विश्वकर्मार्लाइ विश्वब्राम्हणका नामले पनि पुकारिन्छ । र, ती विश्वकर्माहरुले जनैधारण गरेका हुन्छन् । ती विश्वकर्मालाई कार्तिक महिनाको शुल्कपक्षको प्रतिपदाका दिन अन्नकुट गोवद्र्धन पुजाको दिन पुजा गरिन्छ ।

मानवशास्त्रमा विश्वकर्माहरु :
भारतमा कुनैवेला विश्वकर्माहरु कुलिन जातका थिए । यिनीहरुसंग कला सीप, ज्ञान भएकाले उनीहरु औजार निर्माण गर्ने समुह पनि थिए । औजारको सम्वन्ध उत्पादनसंग र उत्पादनको सम्वन्ध समाजसंग थियो । उत्पादनले वर्गको निर्धारणसमेत गर्दथ्यो । विश्वकर्माहरु आरनका मालिक थिए । आरनले औजार निर्माण गर्ने र औजार नै सवै उत्पादनका आधार हुनेहुनाले विश्वकर्मासंग सिंगो समाज आधारित थियो । परम्परागत औजार प्रविधिका कारखाना नै यिनीहरुसंग हुनाले भाडाकुँडा, कृषीउत्पादन सामाग्री, घरेलु हतियारका अतिरिक्त राज्यको सुरक्षा हातहतियार समेत यिनीहरुले नै निर्माण गर्दथे । त्यसैले यिनीहरुसंग निक्कै धन हुन्थ्यो ।

यिनीहरु धनिसमेत भएकाले शासकहरुले समेत कहिलेकाही यी विश्वकर्माबाट धन सापटी लिन्थे । यसर्थ यिनीहरुलाई सिन्धु उपत्यका सभ्यताको एउटा अंश नै मानिन्छ । धन अधिक भएकाले शासकहरुको सम्वन्ध सिधै विश्वकर्मासंग भएकाले ब्राम्हणहरु चिढिन थाले । त्यसले गर्दा शासकलाई उचालेर ब्राम्हणहरुले विश्वकर्मालाइृ विधर्मी घोषणा गरि धन खोसि लखेटेको भन्ने जर्ज भर्जिस्को साहित्यले भन्दछ । यसरी ब्राम्हणहरुको जालमा पराजित भएपछि यिनीहरु उत्तरी भारततीर लखेटिए र यहाँ आएर अरुको शासकको अधिनमा तल्लोस्तरको जिविका चलाउनुपर्दा यिनीहरु हिन्दु बर्णब्यवस्थाअनुसार तल्लोश्रेणीको जातमा गणना भए । भारतवर्षकै अर्को इतिहासले चै नवौं सताब्दीपछि भारतमा शान्त र समृद्ध सवै हिन्दुहरुलाई मुगलहरुले लखेटेपछि विश्वकर्माहरु समेत ब्राम्हणसंगै पश्चिमबाट उत्तरपुर्व लागेका हुन् ।

यी दुवै इतिहासलाई हेर्दा सिल्पी विश्वकर्मा हिन्दुधर्मभित्रका पारखी र कुलिन जातिहरु हुन्, जो माथि कुनै किसिमको विभेद थिएन । नभन्दै बंगाल, केराला, कर्नाटक, उडिसा, तामिलनाडु, मराठ्, महाराष्ट्रलगायतका पुर्वदेखि दक्षिणी भारतमा आजपनि विश्वकर्माहरुलाई कुलिन जातकै भनेर मानिन्छ भने विहारलगायतका क्षेत्रमा निम्न वर्गका विश्वकर्माहरुलाई तल्लो जातकैरुपमा ब्यवहार गरिन्छ । भारतमा विश्वकर्माहरु आचार्य, लोहार, पाञ्चाल, अग्नीहोत्री, चावला, तस्त्वार दक्ष, तारखान आदिले जानिन्छन् । भारतमा करिव ७६ लाख विश्वकर्माहरु रहेको एक अध्यननले बताएको छ ।