कोरियामा नेपाली कामदारका लागि कोटा बढाइदिन आग्रह



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरियामा नेपाली कामदारका लागि कोटा बढाइदिन आग्रह गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङसिकसँगको भेटका क्रममा मन्त्री यादवले कोटा बढाइएमा ईपीएसको भाषा परीक्षा उत्तिर्ण गरेकाहरुले लामो समयसम्म प्रतिक्षा गर्नु नपर्ने भन्दै त्यसबाट कामदारलाई लाभ पुग्ने बताए ।

त्यहाँको पेन्सन प्रणालीमा नेपाली श्रमिकलाई पनि जोड्न आग्रह गर्दै मन्त्री यादवले दक्षिण कोरियालाई ईपीएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थीत बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार भेटमा कोरियाली राजदूत पार्क योङसिकले कोरियामा नेपाली कामदारहरुलाई राम्रो पारिश्रमिक उपलब्ध गराइएको भन्दै कामदारका परिवारसँगको सम्पर्कलाई थप सहज गर्न सकिने जानकारी गराएका छन् । त्यसैगरी उनले नेपाली श्रमिकको आत्महत्याको विषयमा चिन्ता व्यक्त गर्दै त्यसको व्यवस्थापनका लागि कोरियाली सरकारले आवश्यक काम गर्ने समेत बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्