यतीसँग सरकार किन सती गएको ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: सांसद पन्त



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्स कम्पनीलाई नेपाल ट्रष्टको जग्गा दिएकोले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा संसदमा बोल्दै पन्तले ‘यती आतंक राष्ट्रका लागि लज्जाको विषय’ भएको पनि आरोप लगाइन्। ‘यती समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु सरकारको नीतिगत भ्रष्टाचार हो भन्ने प्रष्ट छ,’ उनले भनिन्, ‘गोकर्ण, ताहचल, दरबारमार्गको दुई हजार सात सय ९९ रोपनी जग्गा यतिलाई दिएको छ। जसले राज्यलाई ५ अरब नोक्सानी भयो।’

उनले पाथीभराको जग्गा किन सित्तैमा यतीलाई दिएको भन्ने प्रश्न पनि उठाइन्। ‘शिवपुरीको जग्गा वार्षिक ४० हजारमा किन दिइयो? यतीसँग सती जानु सरकार के कारणले हो?,’ उनले भनिन्, ‘एउटा ब्यापारीक समुहलाई राज्यको सम्पत्तिको जिम्मा लगाउनु के कारणले हो, प्रधानमन्त्रीको जवाफ चाहन्छु।’

उनले ललितानिवास जग्गा प्रकरणमा आफ्ना मान्छेलाई सत्ताले उन्मुक्ति दिएको पनि आरोप लगाइन्। ‘ललितानिवास जग्गा प्रकरणमा आफ्नालाई उन्मुक्ति दिने फरक विचारकालाई जेल पठाउने तयारी गर्दा प्रतिपक्ष दल आन्दोलनमा छ,’ उनले भनिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्