मुख्य समाचार

संघिय संसदको बैठक पनि यस अघिको संसद भवन नयाँ बानेश्वरमा नै बस्ने

By थाहा अनलाइन

November 14, 2017

सैघाली खबर काठमाडौं,२८ कार्तिक

नयाँ संविधान अनुसारको संघिय संसदको बैठक पनि यस अघिको संसद भवन नयाँ बानेश्वरमा नै बस्ने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात यस अघिको संसद भवनमा नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने तयारी सुरू गरेको हो ।

निर्वाचनहुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवनआगामी पुस भित्रै तयार हुने संसद सचिवालयले जनाएको छ । आगामीमंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुँदैछ । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

सचिवालयले सोहीअनुसार दुवै सदनका बैठक सञ्चालनको तयारी थालेको सचिवालयका प्रवक्ता भरतराज गौतमले  जानकारी दिनुभयो । सचिवालयले सम्मेलन केन्द्रकै नुप्से हलमा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने योजना अघि सारेको प्रवक्ता गौतमले बताउनुभयो । राष्ट्रिय सभाको बैठकका लागि सिट, माइक र प्रविधि लगायत भौतिक संरचना पूरै जडान गर्नु पर्नेछ । दुवै सदनका प्रमुख बैठक बाहेक प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, अन्य पदाधिकारी, कार्यव्यवस्था परामर्श समिति र सरकारलाई आवश्यक पर्ने कक्षको समेत तयारी गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।