अलमलमै कांग्रेस : ५० जिल्लामा अन्तरिम संरचना गठन बाँकी



काठमाडौं । संसद्भित्र प्रमुख प्रतिपक्षीको भूमिकामा कमजोर देखिएको आरोप खेप्दै आएको नेपाली कांग्रेस आन्तरिक राजनीतिको व्यवस्थापनमा समेत कमजोर देखिँदै गएको छ । मुलुक संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि ५० बढी जिल्लामा पुरानै संरचनाअनुसारका कांग्रेसका कार्यसमिति कायम छन् ।

कांग्रेसले महासमितिबाट पारित संशोधित विधानमा पार्टीका आठ तहको संरचना बनाइने उल्लेख छ । तर, सबै तहका अन्तरिम संरचनाको समायोजन सक्ने गरी कांग्रेसले गत साउनमा निर्दे्शिका बनाए पनि फागुन लाग्दा समेत समायोजनको काम सम्पन्न गर्न सकेको छैन । यस्तै, प्रदेश संरचनाको अलमल पनि उत्तिकै छ । कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार अझै ५० जिल्लामा अन्तरिम संरचना गठनको काम बाँकी छ । कांग्रेसले बुधबार मात्रै बाँकी संरचनाको गठनका लागि १५ फागुनसम्मको म्याद दिएर समायोजनको काम सक्न जिल्ला समितिहरूलाई निर्देशन दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

कांग्रेसले निर्दे्शिका बनाउँदा नै पार्टीका सबै तहको अन्तरिम संरचनाको गठन कात्तिकभित्रै सक्ने बताएको थियो । तर, सो समयभित्र संरचना गठनको काम नसकिएपछि पुनः माघ मसान्तसम्मको समय दिइएको थियो । सो समयभित्र समेत समायोजन नसकिएपछि केन्द्रीय समितिमार्फत कांग्रेसले बुधबार मात्रै १५ फागुनसम्मको समय तोकेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १५ फागुनभित्र ६ हजार ७ सय ३४ वडा र ७ सय ५३ वटै स्थानीय तहको समायोजन सक्ने बताए । ‘केही जिल्लामा सकियो, केहीमा धमाधम काम अघि बढेको छ । १५ फागुनसम्म सबै संरचनाको समायोजनको काम सकिन्छ,’ कांग्रेस मुख्य सचिव पौडेलले राजधानीसँग भने । उनले ३३० प्रदेश निर्वाचन क्षेत्र र १६५ संघीय निर्वाचन क्षेत्रको समायोजनको काम भने सकिएको दाबी गरे । समायोजन सक्न दिएको निर्देशनअनुसार जिल्लाहरूमा काम नभएपछि केन्द्रबाटै प्रतिनिधि खटाएर समायोजन गर्ने तयारी कांग्रेसले गरेको हो ।

कांग्रेस विधानअनुसार पार्टीमा केन्द्रदेखि बुथ तहसम्म गरी आठ तहको संरचना छ । संघीय संरचनाअनुसार पार्टी संरचनालाई कांग्रेसले संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका र वडाहरूमा समायोजन गर्नु पर्नेछ । कांग्रेसले निर्वाचनमार्फत् सबै कार्यसमिति बनाउन असहज हुने निष्कर्षसहित समायोजनका लागि निर्दे्शिका बनाएर पुरानै कार्यसमितिबाट नयाँ संरचनाअनुसार अन्तरिम संरचनामा रूपान्तरण गर्ने निर्णय लिएको थियो ।

कांग्रेसले गत ११ पुसमा नै १४औं महाधिवेशनको कार्यतालिका ल्याइसकेको छ, जसअनुसार ७—१० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्