मुख्य समाचार

मदन भण्डारीको सपना पूरा हुने दिन आयो -प्रचण्ड

By थाहा अनलाइन

November 14, 2017

 

सैघाली खबर, चितवन २८ कात्तिक, । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताएका छन् ।चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर मंगलबार उनले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताए ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै उनले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट पारे ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उनले भने “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उनले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे ।