चीनबाट फर्काइएका नेपालीमा खुसीको बहार, भन्छन्–सरकारलाई धन्यवाद, मुहार हेर्न अभिभावक आतुर



काठमाडौंबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । चीनको वुहानबाट गरिएको नेपालीको उद्धारको समाचारलाई आजका पत्रपत्रिकाले प्राथमीकताकासाथ प्रकाशित गरेका छन भने ललिता निवास जग्गा प्रकरण लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

ललिता निवास जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुल्यो भन्ने शिर्षक दिएर राजधानी दैनिकमा खबर छापिएको छ ।ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ ।सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको हो ।जाहेरी दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरेर कारबाही अधि बढाउन प्रहरीलाई बाटो खुलेको छ। सीआईबीका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी बेलबहादुर पाण्डेले उनीहरूविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।

राजधानी दैनिकमै कोरोना भाइरस संक्रमणको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तमा रहेका नेपाली स्वदेश फर्कन पाएकामा खुसी भएका खबर प्रकाशित छ ।उनीहरूले सरकारले ढिलै भए पनि आफूहरूको उचित व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।
नेपाल फर्किएसँगै उनीहरूले सरकारलाई धन्यवाद दिएका छन् । सरकारले आफूहरूलाई फर्काएर उचित व्यवस्थापन गरेकाले डिप्रेसन हुनबाट जो गिएको उनीहरूले बताएका छन् ।सरकारले चीनमा रहेका १ सय ७५ नेपालीलाई आइतवार विहान उद्घार गरेर नेपाल ल्याएको थियो ।उनीहरूलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइनमा राखिएको छ ।क्वारेन्टाइनमा बसिरहेका डा. जितसिंह भण्डारीका अनुसार सरकारले बासको राम्रो व्यवस्थापन गरेको छ । उनले भने, ’केही अप्ठ्यारो परे स्वास्थ्यकर्मी आउनुहुन्छ । हामी सबै जनालाई ज्वरो नाप्नका लागि थर्मो्मिटरको व्यवस्था गरिएको छ । खानाको पनि राम्रो व्यवस्था छ ।’ प्रत्येकलाई छट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ ।

अन्नपूर्णपोष्ट दैनिकमा ‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले ।घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो। उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे ।मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन् । डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए ।यसका लागि डा. खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए । ‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं। ढुक्कजस्तै भइयो’, उनले साँझ अन्नपूर्णसँग भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ ।’चीनको हुपै प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन् । भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन् ।१४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन् ।

नयाँ पत्रिका दैनिकमा  उखु बिक्रीको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि पुसमा काठमाडौं आएर आन्दोलन गरेका उखु किसानलाई रकम दिलाउन सरकारले चिनी मिललाई कागज गरायो । किसानलाई ७ माघसम्म सम्पूर्ण भुक्तानी दिलाउने वाचा गरेर जिल्ला फर्काइयो । तर म्याद नाघेको नाघेको एक महिनासम्म उखु किसानले मिलबाट अझै डेढ र्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । त्यति मात्र होइन सरकारले नै किसानलाई अनुदान वापत दिनुपर्ने १ अर्ब ३२ करोड रुपैयाँ नदिएर धोका दिएको छ ।

कारोबार दैनिकमा सरकारले अब कार्यालय प्रमुख बस्ने कोठा र उनीहरुले प्रयोग गर्ने सवारी साधानको मापदण्ड तोक्ने भएको छ । संघीय, प्रदेश र स्थानीय , तीन तहकै सरकारमा सवारीसाधन खरिदर्मै करोडौं रुपैयाँ सकेको, खरिदमा अनियमितता बढेको गुनासो आएपछि मापदण्ड बनाउन लागिएको हो ।

कान्तिपुरमा ‘तुइनबाटै गाडी’ शीर्षकमा समाचार प्रकाशित छ । सरकारले देशलाई तुइनमुक्त घोषणा गरे पनि रुकुम पश्चिमको आठबीसकोट–४,मा स्थित ठूलीभेरी नदीमा भने अझै तुइन हटेको छैन ।तुइन नभए पनि वारिका गाडी पारि र पारिका गाडी वारि आउँछन्, तुइनमा झुन्डिएर । सवारी धनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।समाचारमा जनाए अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु छोटेबगर जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो ।यता कान्तिपुरमै सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल–भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको अर्को खबर पनि छापेको छ । बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन स्मिथ सातदिने औपचारिक भ्रमणमा शनिबार काठमाडौं उत्रनु ७२ घण्टाअघि सरकारले यस्तो अनुरोध गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकामा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिए पनि साढे ४ प्रतिशत मात्रै हासिल भएको समाचार लेखेको छ । पहिलो त्रैमासमा आर्थिक वृद्धिदरलगायत महत्त्वपूर्ण सूचकांक नकारात्मक भेटिएपछि सरकारको दबावमा केन्द्रीय तथ्यांक विभागले विवरण सार्वजनिक नगरेको समाचारमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित भएको खबर नागरिकमा छ भने अन्नपूर्णले वुहानको पीडा खरिपाटी आएपछि नेपालीले भुलेको लेखेको छ ।

नेपाल समाचारपत्रमा नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको समाचार छ ।प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो ।प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाहबिना नै राजीनामा दिंदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ । विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन् ।प्रहरी जवान र हल्वदारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ भने प्रहरी सहायक निरीक्षकले प्रहरी नायब महानिरीक्षक, प्रहरी नायब निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षलाई राजीनामा बुझाउने प्रचलन छ ।प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले राजीनामा दिंदा श्रीमतीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको स्विकार्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रहरी कर्मचारीले राजीनामा गर्न पाउने अधिकार छ, तर घरपरिवारको सहमति र श्रीमतीको उपस्थिति अनिवार्य गराएर मात्र स्वीकृत गर्ने गरेका छौं ।’

राजधानी दैनिकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको दुई वर्ष अवधिलाई पास मार्क दिनै मुश्किल भएको बताएको छ । सरकारको दुई वर्षे कार्यकालबारे आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले यस अवधिमा सरकारले पास मार्क प्राप्त गर्न नसकेको दाबी गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबार विवरण मागेको नागरिक दैनिकमा समाचार छ । यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन् । विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरुका कम्पनीले हालसम्म चुक्ता गरेको कर विवरण, कर कार्यालयमा पेस गरेको वासलात, नाफा–नोक्सानसहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ । अर्थमन्त्रालय अन्तरगत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ । उद्योगी व्यवसायीका व्यापारिक प्रतिष्ठान तथा कम्पनीले आर्थिक वर्षभरिको सम्पूर्ण खर्च र आम्दानीको विवरण अर्थमन्त्रालय मातहतका विभिन्न निकायमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र कम्पनीहरुको सम्पूर्ण आर्थिक विवरण सरकारका विभिन्न निकायमा भएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि आर्थिक कारोबारका सम्पूर्ण कागजात मागेपछि उद्योगी–व्यवसायी तर्सिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्