बाग्मती प्रदेशको उत्कृष्ट नगरपालिकामा : पाँचखाल र चितवन सम्मानित




काभ्रेको पाँचखाल र चितवनको माडी नगरपालिका बाग्मती प्रदेशभित्रकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएका छन् । बाग्मती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रदेशभित्र रहेका स्थानीय तहमध्ये उत्कृष्ट घोषित गर्दै यी २ नगरपालिकालाई सम्मानित गरिएको हो ।

प्रदेशको राजधानी हेडौंडामा आयोजित कार्यक्रममा बाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरे । यसैगरी माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई पनि सो अवसरमा प्रमाणपत्र प्रदान गरियो ।

प्रदेशभित्रका स्थानीय तहमध्ये राम्रो काम गरेको भन्दै यी नगरपालिकालाई सम्मान प्रदान गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरेको कदरसमेत गरिएको उनको भनाइ थियो । सम्मानित भएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले प्रदेश सरकारले उत्कृष्टका रूपमा छनोट गरेपछि भविष्यमा अझ राम्रो काम गर्न उत्प्रेरणा मिलेको बताए ।

‘यो सम्मान पाँचखालका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दल तथा नगरका सम्पूर्ण जनताको हो,’ खरेलले भने । सोही कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ निवासी चञ्चला दनुवारलाई समेत प्रदेश सरकारले सम्मान गरेको छ ।

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक विजेता दनुवारलाई सरकारले नगद ५० हजार सहित सम्मान सम्मान गरेको हो । रजत पदक विजेता दनुवारलाई पाँचखाल नगरपालिकाले पनि केही दिनमा सम्मान गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्