रसुवागढी नाकामा १५ दिनभित्र अस्थायी भवन निर्माण गरिने



कोरोना भाइरसको परीक्षणका लागि रसुवागढी नाकामा हेल्थ डेक्स रहेको स्थानमा अस्थायी भवन निर्माण गरिने भएको छ । चीनले सवारी तथा मानिसको आवतजावत खुला गर्न इच्छा देखाएको छ । तर नेपालतर्फ स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नसक्दा खुला गर्न समस्या भएपछि पूर्वाधार विकास गरेर आवतजावत खुला गर्ने नेपाली पक्षको तयारी छ ।

चीन जान लागेका तथा चीनबाट नेपाल आउने नेपाली तथा विदेशीको लागि स्वास्थ्य परीक्षण गर्न भवन तथा आवश्यक सामग्रीको अभाव छ । दुईवटा कोठा र एउटा हल सहितको भवन निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । माथिबाट ढुंगा झरिरहने भएकाले माथि जाली राखेर ढुंगा रोक्ने कार्य गरिने उनको भनाइ छ ।

स्वास्थ्य जाँचका लागि नाकामै बस्नुपर्ने र जोखिमलाई मध्यनजर गर्दै चीनतर्फ जसरी नै जाली लगाउने काम गरिने बताइएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आइतबार नाकामा रहेको हेल्थ डेक्सको निरीक्षण गरेका छन् । नाकामा रहेको हेल्थ डेक्सलाई व्यवस्थित गर्नका लागि भवन निर्माण आवश्यक रहेको भन्दै मन्त्रालयले अस्थायी भवन निर्माणका लागि बजेट उपलब्ध गराउने बताएका हुन् ।

नाकामा कोराना भाइरस र अन्य सरुवा रोगको जोखिम हुनसक्ने बताउँदै मन्त्री दुलालले नागरिकको स्वास्थ्य सुरक्षाको लागि मन्त्रालय गम्भीर भएको बताए । संरचना निर्माण गर्ने, आवशयक स्वास्थयकर्मी राख्ने र आवश्यक सामग्री राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न सकिने अवस्थामा पु¥याइने उनको भनाइ थियो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलपछि अति संवेदनशील क्षेत्र मानिएको रसुवागढीमा क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको छ । मन्त्री दुलालसहित राजनीतिक दलका नेता, सरोकारवालले यसको निर्माणका लागि निर्माणस्थलको अवलोकन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्