आज राष्ट्रिय प्रजातन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न यो दिनले प्रेरित गर्ने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न सबैसँग आग्रह गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्