अनियमितता आरोपमा दुई पूर्वडिएसपी पक्राउ: तलब, रासनलगायतको बजेट हिनामिना

अमेरिका र युरोपमा बालबालिका तस्करी


काठमाडौंबाट बिहिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा देखिएको विवाद, ‘अप्ठेरोमा पौडेल’ ८.५ प्रतिशत आर्थिक वृद्दिको लक्ष्य सम्भव बालबालिका तस्करीका समाचारलाई आजका पत्रपत्रिकाले प्राथमीकताकासाथ प्रकाशित गरेका छन भने ललिता निवास जग्गा प्रकरण लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

नयाँ पत्रिका दैनिकमा आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई नायब उपरीक्षक पक्राउ परेका समाचार छापिएको छन् ।हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो ।लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई पनि आयोगले नियन्त्रणमा लिएको छ ।०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो । जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि हिरासतमै लिएर आयोगले छानबिन अघि बढाएको हो । अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो ।अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपछि प्रहरी नेतृत्वबाट भएको छानबिनमा उनीहरूलाई जोगाइएको थियो । अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ परेका हुन् ।अनियमिततामा दुवै डिएसपीको मिलेमतो रहेको आयोगको दाबी छ । त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो । हाल बैंक खातामार्फत तलब र रासनभत्ता निकासा हुने गरेको छ ।

कान्तिपुर दैनिकमा ‘अप्ठेरोमा पौडेल’ शीर्षकमा समाचार छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुँयाललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन । फुँयाललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछि इन्चार्ज शाक्यलगायतले आपत्ति जनाए र पार्टी केन्द्रलाई जानकारी गराए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कुरा पुगेपछि फुयाँलको शपथग्रहण रोकियो तर छलफलबिनै फागुन ५ मा मुख्यमन्त्री पौडेलले शपथ गराए । प्रदेश इन्चार्जलाई थाहा नदिई, पार्टी कमिटी र संसदीय दलमा छलफल नगरी मन्त्री नियुक्ति गरेपछि अहिले पौडेल अप्ठेरोमा परेका छन् ।संसदीय दलका अधिकांश सांसद, प्रदेश इन्चार्ज शाक्य, प्रदेश पार्टी कमिटीका अध्यक्ष नारायण दाहाललगायत नै पौडेलको कामप्रति असन्तुष्ट छन् । उनीहरुले मुख्यमन्त्री पार्टी कमिटीभन्दा बाहिरबाट र माथिको आदेशअनुसार एकलौटी चल्न थालेको भन्दै आपत्ति जनाइरहेका छन् ।

कान्तिपुर दैनिकमा नेपालमा हवाई सेवा सञ्चालन गर्न एयरलाइन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको समाचार छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको मौज्दात इजाजतसम्बन्धी कार्यविधिले एउटा जहाज ल्याएर एयरलाइनस स्थापना गर्न छुट दिएको छ । एउटामात्रै जहाज ल्याएर कम्पनीको सेवा सुरक्षित, नियमित र किफायती नहुने भएकाले यस्तो प्रावधान ल्याएको प्रस्तावित हवाई नीति मस्यौदाका संयोजक पूर्व सचिव यज्ञप्रसाद गौतमले बताए । उनको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको हवाई नीति मस्यौदा समितिले बुधबार मन्त्री योगेश भट्टराईलाई यसबारे प्रस्तावित नीतिपत्र बुझाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा ब्यारेकभित्रको कसुरमा सैनिकमाथि मुद्दा चलाउने अधिकार प्रधानसेनापतिमै रहेको फैसला सर्वोच्च अदालतले सुनाएको समाचार छ । ब्यारेकबाहिरको कसुरमा भने प्रहरी अनुसन्धानपछि सरकारी वकिलले मुद्दा चलाउन पाउने व्याख्या सर्वोच्चको छ। यो निर्णयसँगै सेनाको कसुरमा प्रधानसेनापति र महान्यायाधिवक्ताको क्षेत्राधिकारमा देखिएको अन्योल मेटिएको छ। ब्यारेकबाट भागेर पछि पक्राउ परेका कालिकोटका सैनिक सिंहबहादुर शाहीको रिटमा सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो व्याख्या गरेको हो।

कारोबार दैनिकमा अर्थमन्त्री डा। युवराज खतिवडाले चालू आर्थिक वर्षमा ८।५ प्रतिशत आर्थिक वृद्दिको लक्ष्य सम्भव रहेको दाबी गरिरहेको बेलामा राष्ट्रिय योजना आयोगले त्यो असम्भव भएको बताएको विषयलाई शीर्ष समाचार बनाइएको छ । समृद्दिको आधार वर्ष र दिगो विकासको लक्ष्यलाई आधार मानेर चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत वृद्दिको लक्ष्य राखिएको भन्दै आयोगले लक्ष्य अनुसारको काम नहुँदा साढे आठ प्रतिशतको वृद्दि असम्भव भएको बताएको हो ।

नयाँ पत्रिका दैनिकमा प्रहरीले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको  समाचार छ । विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन गरिएको हो । उपत्यकाभित्र बसोवास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरूको विवरण संकलनमा लागेको हो । यसका लागि प्रहरीले मातहतका सबै युनिटलाई निर्देशन दिइसकेको छ । विदेशी नागरिकको बसोवास रहेको क्षेत्रका युनिटलाई बढी सक्रिय पारिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नागरिकको विवरण संकलन कार्य भइरहेको बताए । ‘नागरिकको विवरण संकलनको काम प्रहरीले यसअघि नै थालेको हो । अहिले विशेषगरी विदेशी नागरिकको विवरण संकलन कार्यलाई तीव्रता दिइएको हो ।

अन्नपूर्ण पोष्ट दैनिकमा धर्म–सन्तानका नाममा अमेरिका र युरोपमा बालबालिका तस्करी हुने गरेको  समाचार छ । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए। घटना १० वर्षअघिको हो। उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन। उल्टै ज्यानको धम्की आउन थाल्यो। बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए। आयोगले ती बालकको खोजी गर्यो। पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्याइएका रहेछन्। घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्याइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो।’ घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र–पुत्री बनाएर विदेश पुर्याइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ। तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ। अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्