आज बालाचर्तुदशी, शिवालयमा दिवंगत पितृका नाममा शतबीज छरिदै



सैघाली खबर
काठमाडौं, ३० कार्तिक

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् ।

चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपतिमा भीड लाग्छ । आफ्नो परिवार भित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताउनुहुन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्