कम्युनिष्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव: नेकपामा विवाद, ,आदेश आए १ महिनाभित्रै रेल गुड्ने



काठमाडौंबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमितता, वामदेव गौतमलाई राष्ट्रियसभामा लान संधिवान संशोधन, प्रधानमन्त्री केपी ओलीको जन्मदिन का समाचारलाई आजका पत्रपत्रिकाले प्राथमीकताकासाथ प्रकाशित गरेका छन भने सत्तापक्ष र प्रतिपक्षीको जुहारी,सुनको मूल्यमा नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च, बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग, छायाँ मन्त्रिमण्डलको पहिलो बैठक लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षणसहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो । कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो । यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो । महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए । कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन् ।चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने अधिकारीहरू बताउँछन् । चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताएका छन् । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए । आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने संविधान संशोधन प्रस्तावको साक्षी बनेको कान्तिपुर दैनिकमा समाचार छ । संयोग नै भनौँ, जसरी गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको विधानविपरीत थियो, उसैगरी उनलाई राष्ट्रियसभा सदस्य मनोनयन गरेर प्रधानमन्त्री बनाउने कुरा संविधानविपरीत हो । असार अन्तिम सातातिर आफूविरुद्ध खडा भएको अर्को गुटलाई तितरवितर पार्न गौतमलाई उपाध्यक्ष अफर गरेका ओलीका लागि शनिबार साँझको प्रस्ताव भने अनपेक्षित थियो । ‘अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने र राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो,’ बैठकबारे सचिवालयका एक सदस्यले भने, ‘त्यो प्रस्तावमा प्रधानमन्त्रीज्यू असहमत हनुहुन्थ्यो तर पनि उहाँ मौन बस्नुभयो ।’ बैठकमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभा सदस्य बनाउने कुरा कहाँ पुग्यो भनेर सोधेपछि दाहालले उक्त प्रस्ताव गरेका थिए । दाहाल र गौतमको सहमति बमोजिम नै उक्त प्रस्ताव सचिवालय बैठकमा पुगेको स्रोतको भनाइ छ ।

सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो। गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राखेका छन्। पार्टी सचिवालयको शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य तोकिएको छ। यो विषय गोप्य राख्ने र गोप्य रूपमै त्यसले काम गर्ने तय भएको थियो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा उक्त निर्णय भएको सचिवालयका एक सदस्यले बताए। शनिबार गोप्य राखिएको निर्णय आइतबार सार्वजनिक भएपछि नेकपामा यसले विवाद निम्त्याएको छ।स्रोतका अनुसार एक व्यक्तिलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न खोजिएको भन्दै वरिष्ठ नेता नेपालकै समूहभित्र असन्तुष्टि देखिएको छ। नेम्बाङले पनि आफू कार्यदलमा नबस्ने भन्दै असन्तुष्टि जनाएका छन्। फलस्वरूप कार्यदल नजन्मिँदै विवादमा तानिएको हो। नेकपा संसदीय दलका उपनेता नेम्बाङले आफूलाई संविधान संशोधनको गृहकार्यका लागि गठन गरिएको कार्यदलमा राखिएकोमा असन्तुष्टि पोखेका थिए। आफू संविधानसभा अध्यक्ष भएर जारी गरेको संविधान आफ्नै पहलमा संशोधन गराउन उनी इच्छुक छैनन्। अध्यक्ष दाहालले सचिवालय बैठकमा कार्यदलको प्रस्ताव गर्दा प्रधानमन्त्री केपी ओली मौन बसेका थिए। कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यहरूमै मत बाझिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ। ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ। सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गर्छन्।

नागरिक दैनिकमा भ्रष्टाचारका दुई मुख्य माध्याममा जिटुजी र नीतिगत निर्णयहरु हुने गरेको भन्दै विश्लेषणात्मक समाचार बनाइएको छ । सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न यी दुई माध्याम प्रयोग हुँदै आइरहेको पाइएको हो । पछिल्लो समय मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारलाई छानबिनको अधिकार नभएकाले अनियमितता गर्न नीतिगत निर्णयलाई सहारा बनाउन थालिएको देखिन्छ ।

त्यसैगरी सिधै हुने जिटुजीमा आर्थिक अपचलनको सम्भावना नहुने तर अहिले जिटुजीको नाममा एजेन्ट घुसाएर अनियमितता गर्ने गरिएको समाचारको सार छ । समाचारमा उल्लेख भएअनुसार करिब दुई हजार मेगावाटको बूढिगण्डकी जलविद्युत आयोजनाको ठेक्का, अहिलेको चर्चित ललिता निवासको जग्गा प्रकरणलगायतका विषयहरूमा मन्त्रिपरिषद्का नीतिगत निर्णयको मुख्य भूमिका रहने गरेको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो । प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो । प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

नेपाल समाचारपत्र दैनिकमा भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं।’ –उहाँले भन्नुभयो ।विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ ।नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो । उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ ।विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ । उक्त रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ ।जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ ।

नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० पदमा बढुवाका लागि सात प्रहरी नायक महानिरीक्षक ९डिआइजी० बीच प्रतिस्पर्धा सुरु भएको नागरिक दैनिकमा समाचार छ । प्रहरी महानिरीक्षक ९आइजीपी० ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो । अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ । आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१ औँ ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो । ९१ औँ ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन् । पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्