टर्की र ग्रिस पठाइदिने भन्दै ३२ युवा भए यता न उताका, ठगी गरेर बिजोग बनाउने प्रहरीको फन्दामा



काठमाडौं । युवाहरूलाई आकर्षक रोजगारीमा युरोपियन मुलुक पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका कमलप्रसाद पोखरेल छन् । ३२ युवालाई प्रलोभनमा पारी ३९ लाख ५६ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेपछि पोखरेललाई टेकुबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मोरङको रतुवामाई नगरपालिका–६, बुधबारे स्थायी ठेगाना भएका पोखरेल आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै रकम असुलेपछि सम्पर्क्विहीन बनेका थिए । विदेश पठाउने नाममा रकम उठाएर पोखरेल सम्पर्क्विहीन भएपछि गोपीराम पराजुलीलगायतका पीडितले उनीविरुद्ध उजुरी दिएका थिए । उजुरीलगत्तै प्रहरीले पोखरेल प्रहरी फन्दामा परेका हुन् ।

पोखरेललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्वनगर पठाइएको प्रहरीले जनाएको छ । उनीमाथि वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्दा चलाउने तयारी छ । वैदेशिक रोजगारका नाममा हुने ठगीलाई नियन्त्रण गर्न प्रहरी र विभागबीच गत महिना समझदारी भएको थियो । सोही समझदारी अनुसार, पोखरेललाई विभाग पठाइएको हो ।

वैदेशिक रोजगार ऐनले इजाजतबिना वैदेशिक रोजगारमा कामदार पठाउने परिकल्पना गरेको छैन । कसैले इजाजतबिनै पठाएमा कडा सजाय हुने व्यवस्था छ । इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गर्ने सजाय तोकिएको छ ।

यतिमात्रै होइन, यस्तो गलत कार्य गर्ने व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । यस्ता अनधिकृत कार्य गर्नेलाई ३ देखि सात वर्षसम्म कैद हुने प्रावधान पनि ऐनमा समेटिएको छ । विदेश पठाइ नसकेको भए त्यसको आधा सजाय हुने व्यवस्था छ । यद्यपि, वैदेशिक रोजगारका नाममा हुने ठगी अझै रोकिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्