भ्रष्टाचार गर्न दिन्‍न भनी प्रधानमन्‍त्रीले संसद्‌लाई आश्‍वस्त पार्नुपर्छ – सांसद रिजाल



काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्रीले संसद‍्मा जवाफ दिन माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेको भन्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍‌मा जवाफ दिन माग गरेका हुन्।

‘सदनमा आउनुस् र आश्‍वस्त बनाउनुस् भ्रष्टाचार गर्न दिन्‍न भनेर, तपाईं संसद्‍ले छानेको प्रधानमन्त्री हो,’ सांसद रिजालले भने, ‘प्रधानमन्त्री सबै जिम्मेवारीबाट बाहिर जानुहुन्‍न।’ सांसद रिजालले तामझामका साथ ५ वटा हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्‍त्रीले जन्मदिन मनाएको विषयमा पनि आपत्त‍ि जनाएका थिए। ‘त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो।

त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नुभयो?’ उनले प्रश्‍न गरे, ‘तपाईंले ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आयो।’ लाखौं खर्च गरी प्रधानमन्‍त्रीले जन्‍मोत्सव मनाएको विषयमा सांसद रिजालले भने, ‘त्यो देखेर आफ्नो जन्मदिनमा चकलेट बाँड्ने पूराना राजा, महाराजालाई इर्ष्या लाग्यो होला। मदन भण्डारी के सोच्थे होला?’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्