मोदी ट्रम्पसँग व्यस्त : दिल्लीको हिंसात्मक प्रदर्शनमा पाँचको मृत्यु




राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ ।

गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको हो । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो । उक्त कानुनले भारतका बीस करोड मुसलमानहरूलाई निशाना बनाउने त्यसका आलोचकहरूले बताएका छन् ।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गर्दैगर्दा राजधानी दिल्लीका केही भाग तनावपूर्ण अवस्थामा छन् । उत्तर(पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतबारदेखि हिंसा सुरु भएको थियो जुन सोमबार पनि जारी रह्यो । गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो ।

सिएए भनिएको नयाँ नागरिकता संशोधन ऐनले मुसलमान बाहुल्य भएका तीनवटा देशबाट भारत आउने गैर(मुस्लिम आप्रवासीहरूलाई उन्मुक्ति प्रदान गर्दछ । प्रायस्जसो मुस्लिम महिला तथा पुरुषहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिरहेकाहरू भन्छन् त्यस्तो कानुनले मुस्लिमहरूलाई भेदभाव गर्दछ। तर हिन्दूवादी समूहहरू भन्छन् ती विरोध प्रदर्शनहरू अनावश्यक हुन् । पछिल्लो मुठभेड आइतबार सुरु भएको थियो र दुबै पक्षले पहिले हिंसा भड्काएको भनेर एकअर्कालाई दोषारोपण गरेका छन् ।

सोमबार पनि हिंसा जारी रहँदा ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो। टेलिभिजन दृश्यहरूमा भवनहरूबाट आगोको लप्का र धुँवाको मुश्लो निस्किरहेको देखिन्थ्यो । अधिकारीहरूका अनुसार कम्तीमा ३५ जनालाई गम्भीर चोटपटक लागेपछि दिल्लीस्थित जिटिबि अस्पतालमा उपचार भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्