जनकपुरमै कांग्रेस कमजोर बनाउने राजपा रणनीति– ‘छातीमै गोली हान्नेलाई किन मत दिने ?’



सैघाली खबर

जनकपुर, १ मंसिर । धार्मिक, सांस्कृतिक, मिथिला सभ्यताको केन्द्र हो जनकपुर । तर, पछिल्लो समय राजनीतिको केन्द्र पनि बनेको छ, जनकपुर । मधेस आन्दोलनको केन्द्र धनुषा–३, जनकपुरमा दुई ‘हेभिवेट’ मैदानमा छन् । कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो प्रतिस्पर्धामा उत्रँदा जनकपुरमा चुनावी रौनक बढेको छ । धनुषा–३ मा कम्युनिष्ट गठबन्धनले रामसिंह यादवलाई मैदानमा उतारेको छ ।

९७ हजार ५०२ मतदाता रहेको धनुषा–३ मा प्रतिनिधिसभातर्फ २८ जना प्रत्यासी मैदानमा छन् । जसमध्ये ८ जना विभिन्न पार्टीबाट छन् भने बाँकी स्वतन्त्र छन् ।

निधि भन्छन्– वाम राजेन्द्र दुवै प्रतिस्पर्धी

मधेस आन्दोलनका शीर्ष व्यक्तित्व राजेन्द्र महतो आफैँ मैदानमा उत्रँदा जित्नैपर्ने दबाबमा छन् विमलेन्द्र निधि । त्यस्तै महेन्द्रनारायण निधिको विरासतमा पाएको निधिको राजनीतिलाई भत्काउने दाउमा छन् महतो र उनले भगिरथ प्रयत्न पनि गरिरहेका छन् ।

बिहीबार बाह्रखरीसँगको संक्षिप्त भेटघाटमा निधिले राजेन्द्र महतोले कुनै हालत चुनाव नजित्ने जिकिर गरे । कांग्रेसकै सहयोगमा जनकपुरमा मधेस आन्दोलन चर्किएको दाबी गर्दै त्यसेको ‘सेन्टिमेन्ट’ महतोले नपाउने जिकिर गरे ।

त्यस्तै निधिले महतोमात्रै प्रतिस्पर्धी नभएको बताउँदै वाम पनि उत्तिकै चुनौती रहेको औंल्याएका थिए । “यहाँ महतोमात्रै हुनुहुन्न, वाम पनि एकतावद्ध भएर प्रतिस्पर्धामा छन्,” उनको भनाइ थियो ।

कांग्रेसप्रति आक्रामक महतो

राजेन्द्र महतो सामान्यतः खरो बोलीका नेता हुन् । राष्ट्रिय राजनीतिमा ‘केपी ओलीलाई जवाफ फर्काइहाल्ने’ नेतामा पनि गनिन्छन् । र, एमालेसँग निकै रूष्ट छन् उनी ।

तर, जनकपुरमा भने कांग्रेसप्रति खनिएका छन् उनी । बुधबार बाह्रखरीसँगको भेटमा उनले “मधेसी जनताको छातीमा गोली वर्षाउने निधिलाई किन भोट हाल्ने रु” भन्दै प्रश्न नै गरेका थिए । त्यतिमात्र होइन, उनले निधिलाई मधेस विरोधी संविधान बनाउन भूमिका खेलेको आरोपसमेत लगाए ।
राष्ट्रिय राजनीतिको केन्द्रमा रहेर पनि सिन्को नभाँचेको उनको आरोप छ ।

यस्ता छन् निधि जितका फ्याक्टर

पहिलोः निधि राष्ट्रिय राजनीतिको केन्द्र भागमा छन् । कांग्रेस–माओवादी गठबन्धन निर्माणका शूत्राधारसमेत रहेका निधिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने ट्र्याक खोल । त्यसैले जनकपुरबासी ठान्छन्– निधि जतिबेलै मन्त्री बन्न सक्छन् । जनकपुरको विकास गर्छन् । महेन्द्रनारायण निधि जनकपुरले सम्झने नेता हुन् । तिनै महेन्द्रनारायणका छोरा हुन् विमलेन्द्र । र, उनलाई हराउन चाहँदैन जनकपुर ।

दोस्रोः निधिले जनतालाई हाकाहाकी भनेका छन्– मैले जितेमात्र जनकपुर प्रदेशको राजधानी बन्नेछ । एडीबी परियोजना सुचारू मेरै पहलमा भइरहेको छ । ल्यान्डफिल साइट मै बनाउँछु । ढल्केबर–जनकपुर–जठी सडक मैले नै ल्याएको हुँ । जनकपुरको विकास मैले जति अरूले गर्न सक्दैन ।

तेस्रो स् सञ्जय साह टकला । जनकपुर बम काण्डका मुख्य योजनाकारको अभियोगमा नख्खु कारागारमा रहेका व्यक्ति हुन्, सञ्जय साह । र, तिनै साह यसपटक कांग्रेसको जितमा निर्णायक बन्ने जनकपुरका कांग्रेसको बुझाइ छ । जनकपुर उपमहानगरपालिका क्षेत्रबाट सविधानसभा चुनावमा दुई पटक विजयी भएका व्यक्ति हुन् साह । जनकपुरका मुख्य व्यापारिको मत उनले होल्ड गरेको र त्यो मत कांग्रेसमा आउने विश्वास उनीहरूको रहेको हो । र, हिजो सञ्जय साहलाई साथ दिएकाहरू आज निधिको प्रचारमा हिँडेको कांग्रेसका नेता–कार्यकर्ता बताउँछन् ।

यी कुरा जनताले कति पत्याएका छन्, थाहा छैन । तर, निधिले जितेमा प्रदेशको राजधानी जनकपुर बन्नेमा चाहिँ ढुक्क छन् मतदाता ।

महतो फ्याक्टर

पहिलोः राजेन्द्र महतो मधेस आन्दोलनका ‘नायक’ हुन् । जनकपुरमै तीन जना सहिद भएका छन् । र, महतोले भनेका छन्– म मधेस आन्दोलनलाई जिताउन आएको हुँ । मैले जित्दामात्र मधेसले जित्छ ।

र, उनले यो पनि भनेका छन्– मैले जितेँ भनेमात्र जनकपुर प्रदेशको राजधानी बन्छ । राजधानी गैरमधेसवादी दलले जित्यो भने मधेसले हार्छ । यसर्थ मधेस आन्दोलनको ‘सेन्टीमेन्ट’ राजेन्द्र महतोलाई जानेमा द्विविधा छैन ।

दोस्रोः मलेठ प्रकरण । गत फागुन २३ गते सप्तरीको राजविराजमा घटेको दुःखद् घटना हो यो । एमालेको मेचीमहाकाली अभियान सप्तरीको रुपनी हुँदै राजविराजको गजेन्द्र नारायण औद्योगिक क्षेत्रमा पुगेर सभामा परिणत भयो । र, सभा सकिन लाग्दा अभियान विथोल्ने मधेसी दल र प्रहरीबीच झडप हुँदा ५ जना मारिए । त्यतिबेला गृहमन्त्री थिए निधि । निधिकै निर्देशनमा ५ मधेसीको छातीमै गोली हानिएको भन्दै जनकपुरमा प्रचार गरिएको छ । मलेठ घटनापछि स्थानीय निर्वाचनमा एमालेलाई मधेस छिर्न गाह्रो पर्यो भने, यो निर्वाचनमा निधिले ‘मूल्य चुकाउनु पर्ने’ हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

प्रचारको तरिका
कांग्रेसः सर्लाही छाडेर महतो जनकपुरमा किन ?

मधेसमा सुरूमै चुनाव लाग्दैन । र, सुरूआतमै यसले जित्छ भनेर आँकलन गर्नु गलत नै हुनेछ । ‘रात रहे अग्राख पलाउँछ’– मधेसको चुनावको चरित्र यही हो ।

प्रचारको सुरूआति अवस्थामा कांग्रेसले महतोलाई ‘सर्लाही छाडेर जनकपुर किन आएको रु’ भनेर प्रचार गरिरहेको छ । निधिलाई कमजोर बनाएर मधेसमा महतो वलशाली हुन खोज्दैछन् भने शंकाको सुविधालाई कांग्रेसले भरपुर उपयोग गरिरहेको छ ।

त्यस्तै निधिसँगै चुनाव लड्न महतोलाई कुनै बाध्यता नभएको तर सर्लाहीमा चुनाव नजित्ने र स्थानीय निर्वाचनको परिणामबाट लोभिएर महतो जनकपुर हान्निएको तर्क गर्ने कांग्रेस नभेटिने होइन ।

अन्य ६ वटा प्रदेशमा खासै प्रभाव विस्तार गर्न नसकेपछि मधेसवादी दल दुई नम्बर प्रदेशमा जसरी पनि प्रादेशिक सरकार बनाउने ध्याउन्नमा छन् । स्थानीय निर्वाचनमा कांग्रेस मधेसमा पहिलो शक्ति बन्यो । राजपा र संघीय समाजवादी क्रमशः दोस्रो र तेस्रो शक्ति बने । यसर्थ कांग्रेसलाई कमजोर नबनाई मधेसमा वर्चश्व कायम हुँदैन । र महतोले यो पनि बुझेका छन्– निधिपछि दोस्रो प्रभावशाली नेता कांग्रेसबाट छैनन् मधेसमा । त्यसैले महतो कांग्रेसप्रति खनिएका छन् । मधेसविरोधी संविधान बनाउनेदेखि मलेठमा गोली चलाएकोसम्म आरोप लगाउँदै मत मागिरहेका छन् ।

के महतोले चुनाव जित्छन् ?

हामीले दश वडाका करिब २० मतदातासँग यही प्रश्न ग¥यौँ । तर, मिश्रित प्रतिक्रिया आयो । त्यसमध्ये अधिकांशको मत महतोले जित्छन् भन्ने नै थियो । यसको मुख्य कारण हो– मधेस आन्दोलन । यसबाट प्रष्ट हुन्छ जनकपुरमा मधेस आन्दोलनको ताप सेलाइसकेको छैन । र महतोले मतको रोटी त्यसैबाट सेकाउनेछन् ।

तर, यो जितका लागि प्रयाप्त होला त रु स्थानीय निर्वाचनलाई आधार बनाउने र महतोको व्यक्तित्वलाई नजर अन्दाज नगर्ने हो भने पर्याप्त हुन्छ ।

तर, जनकपुर उपमहानरपालिका–७ जानकीनगरका श्रवणकुमार साह निधिप्रति जनकपुरबासी रुष्ट भएको बताउँछन् । “स्थानीय निर्वाचनमा मधेस आन्दोलनको प्रभावको कारणले मात्रै होइन जनकपुरको विकासप्रति निधिको उदासिनताले पनि राजपा विजयी भएको हो,” उनले भने । उनले जनकपुरको ल्यान्डफिल साइड बनाउन निधिको भूमिका राम्रो नभएको बताए । त्यस्तै जनकपुर–९ का सरोज मिश्रले पनि दुई पार्टीबीच कडा प्रतिस्पर्धा देख्छन् । यसैले जित्लान् भनेर अहिले नै आँकलन गर्न नसकिए पनि महतोले निधिलाई पसिना छुटाउने उनको तर्क छ । जनकपुरको अव्यवस्थाको प्रमुख कारक कांग्रेस भएको उनको भनाइ थियो ।

पंकज रायको बुझाइ पनि यो भन्दा भिन्न छैन । राष्ट्रिय राजनीतिको हर्ताकर्ता र मधेस आन्दोलनको हर्ताकर्ताको भिडन्तमध्ये कसको पल्ला भारी हुने हो भनेर जनकपुरले पर्खिरहेको उनको आसय थियो ।

उनले विकासका केही समस्या पनि औँल्याए । जनकपुरको विकासका लागि एडीबीको परियोजना चलिरहेको भए पनि टेक्निकल एस्पेक्ट कमजोर भएको उनको गुनासो थियो । यातायातदेखि प्रशासनसम्म घूसखोरीको अड्डा भएकाले यसको सुधारतर्फ नै राजनीति केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

जनकपुर–८ मा रवीन्द्र ठाकुरले मधेस आन्दोलनले जित्नुपर्ने राय राखे । रामानन्दचोकमा चिया बेच्ने उनले मधेसमा अझै आन्दोलनको ‘सेन्टिमेन्ट’ रहेकाले यसपटक महतोको पल्लाभारी हुनेतर्फ संकेत गरे ।

यस्तै, जनकपुर–१३ का सुनील साहले पनि महतो र निधिबीच नै टक्कर भएकाले प्रारम्भमै यसै भन्न नसकिने धारणा राखे ।

जनकपुर–८ रामानन्द चोकका मोहनप्रसाद सिंह र रामपुकार यादवको तर्क वितर्क सुन्न योग्यो थियो । मोहनप्रसाद सिंह निधिलाई मत हाल्नुपर्छ भन्थे भने रामपुकार यादवले मधेस विरोधी निधिलाई किन मत हाल्ने भनेर प्रतिवाद गर्थे ।

यतिमात्र होइन यादवले महतोले फराकिलै अन्तरले निधिलाई हराउने तर्कसमेत गरे । त्यस्तै, जनकपुर–२३ का मोहम्मद मुवारक रायमले पनि राजपाले नै जित्ने दाबी गरे ।

स्थानीय तहको मत परिणाम

जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३, २४, २५ वडा, त्यस्तै नगराइन, विदेह नगरपालिका, धनौजी, मुखियापट्टी र मुसहरमिया गाउँपालिका समेटेर बनेको हो, धनुषा–३ ।

स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने कांग्रेस राजपा–संघीय समाजवादी फोरम नेपाल गठबन्धनभन्दा अगाडि छ । कांग्रेसको २२ हजार ५२८ मत छ भने राजपा–संघीय समाजवादी फोरम नेपाल गठबन्धनको २० हजार ७६१ मत देखिन्छ । तेस्रोमा रहेको वाम गठबन्धनको २० हजार १५७ मत रहेको छ । ३ नम्बर क्षेत्रमा परेका मध्ये १२ वडा राजपा–संघीय समाजवादी फोरमले जितेका छन् भने ७ वटा वडा कांग्रेसले र एउटा वडा एमालेले जितेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्