मतदान अधिकृत छनौटमा एकलौटी भएको भन्दै विरोध



सैघाली खबर

बाजुरा, १ मंसिर । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदान अधिकृत छनोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी गरेको भन्दै कांग्रेस निटक कर्मचारीहरुले विरोध गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले विना सल्लाह एकलौटी अधिकृत छनोट गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले विरोध सहीत मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन्।

स्तरमापन नै नगरी मतदान अधिकृत बनाइनु नै मुख्य निर्वाचन अधिकृत कार्यालयको गल्ती भएकोले ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्यायले बताए।

पाध्यायले खरिदार स्तरका कर्मचारीलाई अधिकृत र नायव सुब्बा स्तरका कर्मचारीलाई सहायक मतदान अधिकृत बनाउनु षडयन्त्र भएको बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरुले कुनै एक पार्टीलाई जिताउने सोचका साथ संगठनमा आवद्ध खरिदार स्तरका कर्मचारीलाई अधिकृत बनाइएको आरोप उनीहरुको छ।

कार्यालयले संगठनका कर्मचारीहरुलाई मतदान कब्जा गराउने हैसियतले मतदान अधिकृत र सहायक अधिकृत एकै ठाउँमा खटाउन नहुने शिक्षक संघ र कर्मचारी युनियनको आरोप छ।

निर्वाचन कार्यालयले निर्वाचन कर्मचारी खटनपटन धाधली र पक्षपात पूर्ण भएकोमा ज्ञापन पत्र मार्फत आपत्ति जनाएका छन्। प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा कर्मचारी खटनपटनको निर्देशिका २०७४ को दफा९क०मा गोला प्रथाद्धारा छनौट गर्ने कानुनी प्रचलन भएपनि त्यो नभएकाले तत्काल गोलाप्रथाद्धारा मतदान अधिकृत खटाइनु पर्ने माग ज्ञापन पत्रमा लेखिएको छ।

मतदान अधिकृतलाई कानुन बमोजिम गोला प्रथाद्धारा छनौट नगरिएमा दुवै तहको निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघले बहिस्कार गर्ने निजामती कर्मचारी युनियन संघका अध्यक्ष तिलक बहादुर थापाले बताए।

धाधली गर्ने नियतले संगठनका एकै मतदान केन्द्रमा चार जना भन्दा बढी खटाइउनु यो निर्वाचनलाई असफल बनाउन खोजेको थापाको भनाई छ। ज्ञापन पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले निर्वाचन प्रक्रिया कार्य अगाडि बढेको हुँदा गोला प्रथाद्धारा मतदान अधिकृत छनौट गर्न नसकिने बताए।

योग्यता, क्षमता, तह लगायतका मापदण्डलाई आधार बनाएर, शारिरीक अवस्थालाई समेत मध्येनजर गर्दै कर्मचारीलाई खटाईएकोले शंका गर्नु राम्रो नभएको मुख्य निर्वाचन अधिकृत थपलियाले बताए । कर्मचारीलाई तालिम समेत सञ्चालन गरिसकीएको अवस्थामा आएर मूख्य निर्वाचन अधिकृतको कार्यालयको कार्य सम्पादन मै प्रश्न गर्नु सान्दर्भिक नहुने कार्यालयको भनाई छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्