राष्ट्रियताको रक्षाका लागि जनमोर्चाको सदस्यता लिन जरुरी छ : अध्यक्ष आचार्य



लामो समय सम्म बिद्यार्थी राजनीति गरेर पार्टी राजनीतिमा प्रवेश गरेका राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य सँग सहकर्मी ओमप्रकाश गुप्ताले गरेको कुराकानी

१.राष्ट्रिय जनमोर्चा दाङको स्थापनापछि जिल्लामा भएका महत्वपूर्ण कामहरु के के हुन ?
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले स्थापनाकाल देखि नै देशको राष्ट्रियता , स्वाधीनता , अखण्डता , जनतन्त्र र जनजीबिकाको लागि आबाज उठाउदै आइरहेको छ । देशमा चलेका महत्वपुर्ण आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निभाउदै आएको छ । संविधान सभाद्वारा संविधान बन्नुपर्छ भनेर लामो आन्दोलन ग¥यौँ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि त्यस्तै लामो आन्दोलन ग¥यौँ । पछिल्लो समयमा नेपालीको माग र आबश्यक्ता बेगर ल्याइएको संघीयताका विरुद्धमा लगातार आन्दोलन गरिराखेका छौँ । संघीयता सहि थिएन भन्ने कुरा अहिले प्रमाणित हुँदै गएको छ । अहिले हामीले देश व्यापी रुपमा संगठनात्मक अभियान चलाइरहेका छौँ । जनताको घरदैलोमा पुगेर हाम्रो पार्टीको सदस्यता लिन अनुरोध गरेका छौँ ।

२.जनताले राष्ट्रिय जनमोर्चाकै सदस्यता लिनपर्ने किन ?
राष्ट्रिय जनमोर्चा लामो समय देखि देशको राष्ट्रियता, स्वाधिनता , अखण्डताका साथै जनजीबिका लागि आफ्नो निस्कलङ्क छबिका साथ लड्दै आइरहेको छ । देशको राष्ट्रियता र स्वाधीनता माथि सरकार र त्यसको वरिपरी बस्नेहरुबाटनै सबैभन्दा ज्यादा खतरा हुने गरेको छ । उनीहरु भ्रष्टचारमा लिप्त रहेका छन् । त्यो समस्याबाट देशलाई बचाउनको लागि र देशमा रहेको गरिबी , बेरोजगारी लगायतका बिद्यमान समस्याहरु हटाउनको लागि राष्ट्रिय जनमोर्चाको सदस्यता लिएर आन्दोलनमा सामेल हुन जरुरी छ । अहिले सम्म जनताले सबै पार्टीलाई हेरिसकेका छन् । हाम्रो पार्टी धेरै लामो समय देखि नेपाली राजनीतिमा सक्रियता पुर्बक भुमिका खेलिरहेको छ र यसको निसकलङ्क छवि रहेको छ । त्यसैले पनि राष्ट्रिय जनमोर्चाको सदस्यता लिन हामिले अनुरोध गरेका छौँ ।

३.यहाँले संघियता सहि थिएन भन्नु भयो, यो त अब लागु भैसक्यो त ?
लागू भएका सबै चिज सहि हुन्छन् भन्ने होइन । त्यसो भन्ने हो भने त नेपालमा धेरै कुरा लागु भएका थिए । मुख्य कुरा त्यो देश र जनताको लागि सहि छ कि छैन भन्ने कुरा हो । हिजो राणाको शासन लागेकै हो । पञ्चायत पनि लागेको हो । बहुदल खोसेर निरंकुश राजतन्त्र पनि आएकै हो तर ती सबै टिक्न सकेनन् । त्यसैले संघीयता पनि नेपालीको विशिष्टतामा सहि छैन् । आर्थिक हिसाबले हामीले थेग्न पनि सक्दैनौं । प्रदेश सरकारको कुनै काम नै छैन् । जनताको टाउकोमा बोझको भारी बोकाउने भन्दा अरु कुनै काम छैन् । त्यसैले संघीयताबाट फिर्ता हुनुपर्छ ।

४. पछिल्लो समयमा नेपाली भुमि अतिक्रमणका विरुद्ध पनि यहाँहरुले कार्यक्रम गर्दै आउनु भएको छ । कार्यक्रमहरु कस्ता रहे र त्यसको प्रभाब कस्तो पाउनु भएको छ ?
हो यहाँले भने जस्तै पछिल्लो समयमा हामीले नेपाली भुमि अतिक्रमणका विरुद्धमा आन्दोलनका कार्यक्रमहरु गरेका हौँ । त्यसका साथै एमसिसी सम्झौताका विरुद्ध पनि आन्दोलनका कार्यक्रम गरेका छौँ । हामीले हाम्रो नेपाली भुमिलाई आफ्नो नक्सामा सामेल गरेर भारतले नक्सा प्रकाशित गरेपछि त्यसका विरुद्धमा देशब्यापी रुपमा आन्दोलन संञ्चालन ग¥यौँ । कालापानी सम्म पुग्ने काम पनि ग¥यौँ । हाम्रो आन्दोलन र सचेतना प्रयत्नका कारण पुरै देश राष्ट्रियताको विषयमा जुरुक्क उठेको थियोे । तर सरकारले प्रभाबकारी कदम चाल्न सकेन र त्यो विषय सेलाउँदै गएको छ ।

५. एमसिसिको कुरा पनि उठाउनु भयो । यो खासमा के रहेछ ?
यो अमेरिकाको कार्यक्रम हो । अमेरिकाले पहिले देखि नै युएसएआईडिको नाममा सहयोग गर्दै आएको छ । उसले आफ्नो निश्चित उद्देश्य पूरा गर्नको लागि सहयोग गर्दै आइरहेको हो । त्यो उदेश्य त्यो बाटोबाट पूरा हुन नसकेपछि नै एमसिसी अगाडि सारेको होला भन्ने लाग्छ । यसको विषयमा चर्चा सुरु भएदेखि विभिन्न कोणबाट कुराहरु अगाडी आए । कतिपयले यो इन्डोप्यासेफिक रणनीतिको अभिन्न अंग हो भने र खासगरी यसलाई पास गरेर नेपालमा लागु गर्नुपर्छ भन्नेहरुले इन्डोप्यासेफिक रणनीतिको अंग होइन् भने । अन्त्यमा अमेरिकन दूतावासलेनै इन्डिप्यासेफिक रणनीतिको अभिन्न अंग हो भन्यो । त्यो भनेको अमेरिकन रक्षा मन्त्रालयको कार्यक्रम हो । यो पनि त्यही हो भने यो नेपालको राष्ट्रियता र स्वाधीनताको लागि ज्यादै घातक छ । नेपालमा सानातिना काम गर्ने र तिनैको सुरक्षाको नाममा अमेरिकन सेना ल्याउने हो भने नेपाल सधँैको लागि अन्त्यहिन द्वन्द्वमा फस्न सक्छ । सामरिक हिसाबले हामी यस्तो पोइन्टमा छौ कि उत्तर तिर विशाल चीन छ । उसको बिश्वब्यापी व्यापार छ । आर्थिक रुपमा ठूलो बिकास गरेको छ । अमेरिका त्यो सहि राखेको छैन् । उसलाई आफु भन्दा अगाडि अरु नजावस् भन्ने छ । त्यो चेपटामा हामी पर्ने सम्भाबना छ । त्यसैले एमसिसीलाई पास गराउन दिनु हँुदैन । त्यो सम्झौतामा उल्लेखित बुँदाहरुनै ज्यादै खतरनाक छन् । यति सम्म कि सम्झौतामा उल्लेखित बुँदा र नेपालको संविधानमा नेपालको संविधान निष्क्रिय हुने र त्यो बुँदा सक्रिय हुने कुरा उल्लेख छ । यो भन्दा राष्ट्रघात केही हुँदैन । त्यसैले यो खारेज हुनुपर्छ ।

६. अध्यक्षका हिसाबले दाङमा जनताका समस्याहरु कस्ता पाउनु भएको छ र पार्टीगत हिसाबले त्यसको समाधानको लागि के भुमिका खेल्नु भएको छ ?
देशका बिद्यमान समस्या र दाङका समस्या उस्तैनै हुन् । देशमा जुन समस्या छ । त्यो समस्याले दाङलाई पनि छोडने कुरा भएन । बेरोजगारीको ठूलो समस्या छ । युबाहरु जो संग केही गरौ भन्ने जोसजागर हुन्छ ती सबै देश बाहिर छन् । बिकाशका काम सन्तोषजनक रुपमा हुन सकेका छैनन् । भ्रष्टाचार ब्याप्त छ । गरिबी उस्तै छ । राम्रो उपचारको ब्यबस्था हुन सकेको छैन् । यी तमाम समस्याका विरुद्धमा हाम्रो पार्टी आन्दोलन गर्दै र जनचेतना जगाउदै आएको छ ।

७. राष्ट्रिय जनमोर्चा दाङको अध्यक्ष सम्म आई पुग्दा राजनीतिक अनुभव कस्तो रहयो र अहिलेको देशको अबस्था कस्तो मानिरहनु भएको छ ?
म लामो समय सम्म बिद्यार्थी राजनीति गरेर पार्टी राजनीतिमा प्रवेस गरेको हु । अहिले राष्ट्रिय जनमोर्चा दाङ जिल्लाको अध्यक्ष हुँदा सम्म राजनीतिक रुपमा धेरै अनुभबहरु प्राप्त भएका छन् । अहिले सम्म सरकारमा बस्नेहरु जनतालाई केन्द्रमा राखेर कहिले काम गरेनन् । देश र जनताको माया भनेको सरकार बाहिर रहँदाको देखाउने दात मात्र हो भन्ने अबस्था उनीहरुका क्रियाकलापले गर्दा भएको छ । जनतामा राजनीतिक पार्टी प्रति बिश्वास नै छैन् । किन कि बिश्वास पुर्ण काम अहिले सम्म सरकारमा रहनेले गरेनन् । राष्ट्रिय जनमोर्चाले स्वाभिमानको राजनीति गरेको छ । स्वाभिमानलाई स्थापित गर्ने कुरा गरेको छ । राष्ट्रियताको पक्षमा र सबै खाले अन्याय अत्याचार अनियमितताका विरुद्धमा आफुलाई सतिसाल झै उभिएको छ । यसैमा गौरभामित भएको छु । देशको अबस्थाको कुरा गर्ने हो भने अहिलेको सरकारबाट जनतालाई धेरै आशा थियोे तर आधारभुत रुपमा यो सरकार हिजोका सरकार भन्दा फरक हुन सकेन । देशमा ब्याप्त अनियमितता र अन्यायपूर्ण अबस्थाको अन्त्य हुन पनि सकेन । त्यसैले अहिले पनि जनताको न्यायपुर्ण आन्दोलनको खाँचो देखिएको छ ।

८. राष्ट्रिय जनमोर्चा दाङको हाल भइरहेका र आगामी महत्वपूर्ण कार्यक्रमहरु के के छन् ।
हामीले अहिले जिल्ला ब्यापीरुपमा संगठनात्मक अभियान संञ्चालन गरेका छौँ । सबै नेता कर्याकर्ता जनताको घरदैलोमा पुग्नु भएको छ । म पनि लगातार त्यही अभियानमा हिडिरहेको छु । हामीले जनतालाई देशको अबस्थाको बारेमा बुझाउने काम गरेका छाँै । भने जनताले आफ्ना गुनासाहरु हामीलाई सुनाउने गर्नु भएको छ । हामीले सबै कुरा बुझाउँदै जनतालाई हाम्रो सदस्यता प्रदान गरेका छौ ।

९. अभियान कसरी अगाडी बढेको छ र जनताको मत के पाउनु भएको छ ?
हाम्रो अभियान जिल्लालाई आठ भागमा बिभाजन गरेर अगाडि बढेको छ । घोराही उपमहानगरपालिकाको अभियानको नेतृत्व मैले गरेको छु । तुलसीपुर उपमहानगरपालिकाको अभियानको नेतृत्व जिल्ला सचिबालय सदस्य शुक्र भण्डारीले गर्नु भएको छ । लमही नगरपालिकाको नेतृत्व जिल्ला सचिब बसन्त पौडेलले गर्नु भएको छ । गढबा गाउँपालिकाको नेतृत्व प्रदेश समितिका सचिबालय सदस्य रेशम बिसीले गर्नु भएको छ । राजपुर गाउँपालिकाको नेतृत्व जिल्ला सदस्य कपिलदेब खनालले गर्नु भएको छ । दंङिशरण, शान्तिनगर र बबईको नेतृत्व जिल्ला सह सचिब ऋषिराम पौडेलले गर्नु भएको छ । भने राप्ती गाउँपालिकाको नेतृत्व अखिल नेपाल किसान संघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यले गर्नु भएको छ । बंङलाचुली गाउँपालिकामा अभियान पछि चल्ने छ । यो अभियान फागुन महिना भरी चल्ने छ । जहाँ सम्म जनताको मतको कुरा छ जनतामा धेरै निराशा छाएको छ । हामीले धेरै पटक बिश्वास दियौँ तर हामीले केही पाएनाँै कम्युनिष्ट सरकारबाट समेत केही हुन सकेन भनेर जनतामा निराशा छ ।

१०.अन्तमा केही भन्नु छ कि ?
धेरै कुरा भैसकेका छन् । अहिले देशको राष्ट्रियता माथि ठूलो संकट आएको छ । देश रहे मात्र हामी रहने हो र पार्टीहरु रहने हो त्यसैले पार्टी भन्दा माथी उठेर राष्ट्रियता बचाउन जरुरी छ । यहाँले यो माध्यामबाट बिचारहरु पस्किने अबसर दिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्