खनाललाई ‘हेभिवेट’ को डर



सैघाली खबर
दाङ, २ मंसिर ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बन्यो। ६०र४० का आधारमा सिट बाँडफाँट गर्ने सहमति भएसँगै दुई दलले निर्वाचन क्षेत्र बाँडफाँटको सबै काम पनि लगभग मिलिसकेको थियो।

 

कुरा मिल्न नसकेका केही क्षेत्रमध्ये एक थियो, दाङ–२। कुरा नमिल्नुको कारण थियो, त्यसक्षेत्रमा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महरा दुबैको दाबी।माओवादी नेता वर्षमान पुन गृहजिल्ला रोल्पाबाटै चुनाव लड्ने भएपछि महरालाई १० वर्षपछि पुनः दाङ झर्नु पर्ने बाध्यता पर्‍यो। महरा र पोखरेल दुबैले दाङ–२ छोड्न नसक्ने बताएपछि एमाले–माओवादी केन्द्रको शीर्ष नेतृत्व अप्ठेरोमा पर्‍यो।

महरा र पोखरेल २ नम्बर बाहेक अरु कुनै पनि क्षेत्रमा गएर चुनाव लड्न राजी भएनन्। त्यसपछि एमालेले स्थायी समिति सदस्य शंकरलाई प्रदेश सभा सदस्य लडाएर महराले प्रतिनिधि सभा सदस्य छोड्न तयार भयो। महरालाई माओवादी केन्द्रले दाङ–२ बाट लडाउने निर्णय ग¥यो। सुरुदेखि नै महरा र पोखरेलले दाङ–२ छोड्न नमानेपछि चर्चामा आएको थियो यो क्षेत्र। एमालेले स्थायी समिति सदस्य पोखरेललाई प्रदेश सभामा प्रतिस्पर्धा गराएर माओवादी नेता महरा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएपछि झनै चर्चामा आएको छ दाङ–२।

लोकतान्त्रिक गठबन्धनले कांग्रेसका पूर्वसांसद राजु खनाललाई महराविरुद्ध उम्मेदवार बनाएको छ। खनाल दोस्रो संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचन जितेका थिए। त्यसैले पनि महराविरुद्ध खनाललाई बलियै उम्मेदवारका रुपमा लिइएको छ। दुईबीच कडा प्रतिस्पर्धा हुने आंकलन पनि गरिन थालिएको छ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचन दाङका पाँचै वटा निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गर्दा महरा दाङ–३ बाट विजयी भएका थिए। तर, दोस्रो संविधान सभा निर्वाचनमा महरा रोल्पा–१ बाट प्रतिस्पर्धा गरे। विजयी पनि भए। अहिले विना विभागीय मन्त्री हुनुअघि बर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री समेत भए। त्यसैले उनीमाथि सजिलो समयमा मात्रै दाङलाई सम्झदै आएको आरोप लाग्ने गरेको छ।

महराका लागि दाङका अन्य दुई क्षेत्रमध्ये यो क्षेत्र अलिक सुरक्षित मानिएको छ। तर, उनीमाथि ‘टुरिष्ट नेता’ को आरोप पनि लागेको छ। तर, महरा भने आफूले जित्नेमा ढुक्क छन्। महरा भन्छन्, ‘पहिले म यही क्षेत्रबाट निर्वाचित भएको हुँ। माओवादीको मत पनि राम्रै छ। वामगठबन्धनको उम्मेदवार भएकाले जित्नेमा कुनै शंका छैन।’

तर, महराले भनेजस्तो सहज भने छैन। किनभने कांग्रेसका खनाल त्यति कमजोर उम्मेदवार होइनन्। खनाल ‘महरा टुरिष्ट नेता भएकाले आफूले नै चुनाव जित्ने’ दाबी गर्छन्। ‘हिजो यही क्षेत्र छोडेर रोल्पा जानु भयो। १० वर्षपछि फेरि फर्किनु भएको छ। जनताले विकास खोजेका छन्, जुन काम मैले गरिरहेको छु। त्यसैले जनताले मलाई नै जिताउने छन्,’ उनले भने।

खनालले अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार लक्ष्मण आचार्यलाई ७ हजार मतान्तरले पराजित गरेका थिए। खनालले १५ हजार ४८ मत पाउँदा आचार्यले ७ हजार ९ सय ४२ मत पाएका थिए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार निर्मल आचार्यले ७ हजार ४ सय ८ मत ल्याएका थिए। दोस्रो संविधान सभाको मतपरिणामलाई हेर्ने हो भने एमाले र माओवादी केन्द्रका दुबै उम्मेदवारले पाएको मत १५ हजार ३५० हुन आउँछ, जुन कांग्रेसका खनालले पाएको मतभन्दा ३०२ मतमात्रै बढी हो।

पहिलो संविधान सभा निर्वाचनमा महराले यही क्षेत्रमा कांग्रेसकी अनिता देबकोटालाई झण्डै १० हजार मतान्तरले हराएका थिए। महराले २० हजार ७ सय ८४ मत पाएर विजयी हुँदा देवकोटाले १० हजार ८ सय १२ मत ल्याएकी थिइन्। एमालेका उम्मेदवार छविलाल ओलीले भने ४ हजार ८ सय ७९ मत पाएका थिए। तर, माओवादी केन्द्रले दोस्रो संविधान सभा निर्वाचनमा भने १० हजार मत पनि पुर्‍याउन सकेन। पहिलो संविधान सभा निर्वाचनभन्दा दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले १३ हजार ३ हजार ७६ मत कम पाएको थियो।

महरालाई दाङ–२ बाट निर्वाचित हुन एमालेकै बढी भर पर्नु पर्नेछ। चुनाव जित्न महरालाई ८० प्रतिशतभन्दा बढी एमालेको मत खस्नु पर्ने छ। कांग्रेसका उम्मेदवार खनाललाई पनि चुनाव जित्न एमालेको मतमै भर पर्नु अवस्था छ।

एमाले–माओवादी गठबन्धन र कांग्रेस दुबैले प्रदेशमा चौधरी समुदायका उम्मेदवार उठाएका छैनन्। यो क्षेत्रमा झण्डै ३० हजार हाराहारीमा थारु समुदायको मत छ। थारु समुदायलाई कुनै पनि दलले उम्मेदवार नबनाएकाले उनीहरुको भोट पनि निर्णायक हुन सक्नेछ।

तर, अघिल्लो पटक क्षेत्र नम्बर ३ कायम भएको यो क्षेत्र अहिले २ नम्बरमा पर्छ। यो क्षेत्रमा घोराही उपमहानगरपालिकाका १९ वटा वडाहरुमध्ये १५ वटा वडा, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ वडा पर्छन्। घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ वडा भने क्षेत्र नम्बर १ मा पर्दछन्।

घोराही उपमहानगरपालिकाको मेयर र उपमेरमा एमाले विजयी भएको छ भने बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ। कांग्रेस क्षेत्र नम्बर २ मा पर्ने घोराही उपमहानगरपालिका १५ वडामध्ये ४ वटा वडामा विजयी भएको छ। एमाले ६ वडामा र ३ वटा वडामा माओवादी विजयी भएको छ। २ नम्बर क्षेत्रमै पर्ने तुलसीपुरका १६, १८ र १९ मा एमाले विजयी भएको छ भने वडा नम्बर १७ मा कांग्रेस विजयी भएको छ।

स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा क्षेत्र नम्बर २ मा एमालेको २२ हजार ४६ मत छ भने कांग्रेसको कांग्रेसको मत २१ हजार ४६ मत छ। माओवादी केन्द्रको १७ हजार ५ सय ३५ मत छ। स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने ३९ हजार ५८१ मत हुन जान्छ, जुन कांग्रेसको भन्दा १८ हजार भन्दा बढी मत हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्