टप फिचर

थरुहट थारुवान राष्ट्रिय मोर्चाको आमहडतालले विहानै देखि दाङ ठप्प, जनजीवन प्रभावित

By थाहा अनलाइन

March 03, 2020

दाङ : थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको आमहडतालको प्रभाव दाङमा परेको छ।बिहानैदेखि बजार, कलकारखाना ,उद्योग धन्दा, व्यापार व्यवासाय, शिक्षण संस्थालगायत सवारी तथा यातायातका साधन पूर्णरुपमा बन्द रहेका छन् ।

चोक चोकमा थरुहटका कार्यकर्ता देखिएका छन् ।उनीहरुले अतिआवश्यकका सवारी साधन, शव वाहन, दूध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनीतिक नियोगका सवारी साधन मात्रै चल्न दिएका छन्।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले मंगलबार र बुधबार दुई दिन आमहडतालको घोषणा गरेको छ । गत पुस २२ गते सरकारसँग १४ बुँदे माग राखी आफ्नो माग सम्बोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाए पनि सरकारले आफ्ना मागप्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरेको विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले आफ्ना माग पूरा गर्न दबावस्वरुप आन्दोलन गर्न लागिएको जनाएको छ।