ठगी गर्नैको सरक्षणमा चौधरी



सैघाली खबर,
काठमाणडौ ४ मसिरं।

वैदेशिक रोजगारीमा जाने कामदारलाई गरेको ठगीसम्बन्धी मुद्दा मिलाउन श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी र वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेबीच साँठगाँठ हुने गरेको खुलेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका दाङ तुल्सीपुर–२० का हरि केसी र सुष्मा केसीको मुद्दामा ठगको पक्षमा राज्यमन्त्री र महानिर्देशकले साँठगाँठ गरेको खुलेको हो ।

हरि र सुष्मा नाताले दिदीभाइ हुन् । दाङ तुल्सीपुरकै कैलास चन्द, वसन्त ओली, टीकाराम बुढाथोकी र तेजेन्द्र हमाललगायत पाँचजनालाई विदेश पठाउँछु भनी ठगी गरेको आरोपमा उनीहरू गत चैतमा पक्राउ परेका थिए । म्यानपावर व्यवसाय सञ्चालनको अनुमतिपत्रसमेत नलिएका उनीहरूले व्यक्तिगत श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारमा पठाउँदै आएका थिए । उनीहरूलाई विभागले २१ लाख रुपैयाँ धरौटीमा १४ वैशाखमा छाडिसकेको छ ।

वैदेशिक रोजगार ऐनअन्तर्गत दायर हुने मुद्दाको कारबाही र किनारा संक्षिप्त कार्यविधि ऐनअनुसार हुने व्यवस्था छ । पक्राउ परिसकेपछिको ३५ दिनभित्र वैदेशिक रोजगार न्यायाधीकरणमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, विभागका महानिर्देशक र राज्यमन्त्रीकै मिलेमतोमा लामो समयदेखि मुद्दा विभागमै रोकेर राखिएको खुल्न आएको छ । उक्त मुद्दा विभागमै टुंग्याउने विषयमा मंगलबार विभागका प्रमुख पाण्डे र राज्यमन्त्री चौधरीबीच भइरहेको टेलिफोन संवाद नयाँ पत्रिकाले फेला पारेको छ । त्यसको भोलिपल्ट बुधबार पाण्डेलाई घुस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राज्यमन्त्री चौधरी भने दाङ क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव लड्दै छन् । यसअघि उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद थिए ।

केसीद्वयले ०७३ को असारमा कतारको पाँचतारे होटेलमा कामका लागि पठाइदिने भन्दै पीडितहरूबाट प्रतिव्यक्ति २ लाख ८० हजार रुपैयाँ लिएका थिए । प्रतिमहिना ७०–८० हजार तलब पाइने झुटो आश्वासनमा उनीहरूलाई कतार पु¥याइएको थियो । ०७३ माघमा कतार पु¥याइएका उनीहरूले पाँचतारे होटेलको रोजगारी त कता हो कता, सामान्य खान–बस्नसमेत पाएनन् । खान–बस्नै समस्या भएपछि कतारस्थित दाङ देउखुरी समाजको सहयोगमा ४५ दिनपछि नेपाल फर्किन सफल भएको पीडितहरूको भनाइ छ ।

गत चैतमा नेपाल फर्किएका पीडितहरूले आफूले बुझाएको रकम फिर्ता नपाएपछि विभागमा उजुरी दिएका थिए । उजुरी दिएपछि आरोपित पक्षले आफूले बुझेको रकम फिर्ता गरिदिने भन्दै विभागमा मिलापत्रको प्रयाससमेत गरेका थिए । व्यक्तिगत रूपमा रकम असुलेर वैदेशिक रोजगारमा पठाउने कार्य फौजदारी अभियोग हुने भएकाले उनीहरूको मुद्दा मिलापत्रमा टुंगिने सम्भावना थिएन । मिलापत्र गराउने प्रयासका क्रममा पीडितहरूले प्रतिव्यक्ति १ लाख ४० हजार रुपैयाँ फिर्ता पाइसकेका छन् ।

बाँकी १ लाख ४० हजार रुपैयाँ भने रोक्का सम्पत्ति फुकुवा नभएकाले फिर्ता गर्न नसक्ने केसी परिवारले बताउने गरेको पीडितमध्येका बेलटाकुरा तुल्सीपुर घर भएका ओलीले बताए । नयाँ पत्रिकालाई प्राप्त टेलिफोन संवादमा वैदेशिक रोजगार न्यायाधीकरणमा रहेको मुद्दा लम्ब्याएर पीडकलाई उन्मुक्ति दिने योजना महानिर्देशक र राज्यमन्त्रीले गरेको भेटिएको छ ।

यस्तो छ, सजाय व्यवस्था

विद्यमान कानुनी व्यवस्थाअनुसार म्यानपावर कम्पनीले समेत व्यक्तिगत रूपमा कामदार पठाउन पाउँदैनन् । कानुनविपरीत म्यानपावर कम्पनीले व्यक्तिगत रूपमा कामदार पठाएमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा इजाजतपत्र रद्द अथवा दुवै सजाय हुने वैदेशिक रोजगार ऐनको व्यवस्था छ । तर, केसी दिदीभाइले म्यानपावर सञ्चालनको कुनै इजाजतपत्र भने लिएका छैनन् । इजाजतपत्र नलिई कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । कानुनअनुसार ३ वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा अभियुक्तलाई जेलमै राखेर कारबाही चलाउनुपर्छ । तर, महानिर्देशक पाण्डेले सेटिङमा उनलाई छोडिदिएका हुन् ।

के भन्छन् राज्यमन्त्री

विभागका महानिर्देशकसँग त्यस विषयमा मेरो कुराकानी भएकै हो । केही समयअगाडि मात्र मन्त्रालयमा आएकाले मलाई कानुनी व्यवस्थाबारे थाहा थिएन । मेरै निर्वाचन क्षेत्रका भाइको मुद्दा भएकाले के हो भनेर बुझ्न खोजेको मात्र हुँ । दुवै पक्ष मिलिसकेकाले मुद्दा टुंग्याइदिनुहोस् भनेको थिएँ । डिजी सापले सकिन्न भन्नुभयो । नसकिने भए न्यायाधीकरण पठाइदिनुहोस् भनेको हो । अर्कोतिर मैले मन्त्रालयमा वैदेशिक रोजगारका विषय हेर्ने गरेको पनि छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्