कम्युनिष्टकाहरुको सभामा बाजा बजायो भन्दैमा निर्घात कुटपिट



 

सैघाली खबर
जाजरकोट, ४ मंसिर । वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको भन्दै जाजरकोटमा कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् ।

छेडागाड नगरपालिका–१२ कार्कीगाउँका दमाइहरुलाई कांग्रेस कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन् । उनीहरुले कले दमाईकी श्रीमती मनदरी दमाई र भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

त्यही वडाको मनघाटमा भएको गठबन्धनको चुनावी सभामा बाजा बजाएको र खाना पकाएर सहयोग गरेको भन्दै उनीहरुले घरमै आएर कुटपिट गरी घाइते बनाएको पीडित कले दमाइले बताउनुभयो ।

उनीहरुले वाम गठबन्धन मुर्दाबाद नारासहित घर घेरेर ‘कार्यक्रममा किन गएको तिमी ‘डुम’ हरुको आज लास पार्छौँ’ भन्दै कुटपिट गरेको कले दमार्इ बताउनुभयो ।

उनीहरुमाथि गत शुक्रबार घरभित्रै गएर लछारपछार पारेर बाँसका लठ्ठीले कुटपिट गरेको मन्दरी दमाइले बताउनुहुन्छ ।
कांग्रेसका कार्यकर्ता काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ल लगायतकाले कुटपिट गरेका हुन् ।

पीडितहरुले आफुलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका छन् । उजुरीपछि दुवै पक्षलाई बोलाइएको बताउँदै सोमवार यसबारे छलफल गर्ने प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्