प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा



सैघाली खबर
काठमाडौं,५ मंसिर

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री पुर्‍याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिए । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

 

ढकालले अनलाइनखबरसँग भने, ‘पहिलो चरणको तयारी सबै सकिएको छ । दोस्रो चरणको तयारी पनि सकिने क्रममा छ । अनुगमनकर्ताहरु पनि खटिसक्नु भएको छ ।’

पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । ती अनुगमनकर्ताहरुलाई मंगलबार तालिम दिइँदैछ ।

नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।

यसैगरी सातवटै प्रदेशमा निर्वाचन विवाद निरुपण सम्वन्धमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम पनि राखिएको छ । निर्वाचनमा भाग लिएका दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाइएको छ । छलफलमा सहभागीहरुलाई मत माग्न जाँदा मतदाता शिक्षा पनि दिन आग्रह गरिने प्रवक्ता ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालले भने, ‘केन्द्रमा हामीले राजनीतिक दलका युवा नेताहरुलाई बोलाएर यस्तो कार्यक्रम गरिसक्यौं । प्रदेश नम्बर ३ मा मंसिर ३ गते नै सकिएको छ । बाँकी प्रदेशमा निर्वाचनमा भाग लिएका सबै दलहरुका प्रनिनिधि बोलाएर आज छलफल र तालिम दिँदैछौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्