शंकर पोख्रेलको संकल्पपत्र सार्वजनिक



सैघाली खबर,
दाङ ५ मसिंर।

एमाले स्थायी कमिटी सदस्य तथा दाङ– २ को १ बाट प्रदेशसभाका उम्मेदवार शंकर पोख्रेलको संकल्पपत्र सार्वजनिक भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नेता पोख्रेलले संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

नेता पोख्रेलले आफ्नो संकल्पपत्रमा सडक सञ्जाललाई विशेष जोड दिएका छन् । जसअन्तर्गत दाङलाई सबै छिमेकी जिल्लासँग जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखेका छन् । नेता पोख्रेलको संकल्पपत्रमा प्रकृतिलाई पनि पर्यटन विकासको आधारका रुपमा विकास गर्ने तथा भविष्यमा क्षेत्रीयस्तरको विमानस्थल र रेलमार्गको पनि परिकल्पना गरिएको छ ।

सिंचाई, पिउने पानीको उचित प्रवन्ध र कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणलाई पनि उत्तिकै संकल्पपत्रमा प्राथमिकता दिइएको छ । समग्रमा मानव विकास सूचकाङ्कमा दाङलाई माथि पुराउन स्वास्थ्यमा जनताको सहज पहुँच, शिक्षा तथा पर्यावरणीय संरक्षणका लागि संकल्पपत्रमा विशेष जोड दिइएको छ ।संकल्पपत्र सार्वजनिक गर्दै दाङ– २ को १ मा प्रदेशसभा सदस्य पदका उम्मेदवार नेता पोख्रेलले भने, “संकल्पपत्रमा समेटिएका विषयहरु त छँदैछन्, हामी यसमा मात्रै सीमित रहने छैनौं । सबै पक्षको सुझाव र आवश्यकताका आधारमा अरु योजना र विषयहरुलाई पनि प्राथमिकतामा राख्न सकिने छ ।” उनले थपे, “प्रदेशको नेतृत्व गर्दा फराकिलो सोंच र क्षेत्र अगाडि आउने छन् ।

संकल्पपत्रमा मात्र सीमित नहरी सम्भावनाका अरु पाटोलाई पनि खुला राखिने छ ।”नेता पोख्रेलले पाँच नम्बर प्रदेशको राजधानी सबै दृष्टिले दाङ उपयुक्त हुने तर्क पनि राखे । उनले भने, “पहिलो कुरा त सुरक्षा सम्वेदनशीलताको दृष्टिले दाङ अत्यन्त सुरक्षित छ । लुमुक्त जिल्ला भएकाले यसले प्रदेशभरिका जनतालाई लुबाट बच्न साझा सुबिधा प्राप्त हुनेछ । प्रदेशको दूरीका हिसावले पनि मध्यभागमा भएका कारणले पनि हाम्रो दावी जायज छ र प्रदेशका आमजनतालाई सुविधाको दृष्टिले पनि राजधानी दाङ नै उपयुक्त छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्