सजगताका साथ सुरक्षा मिलाउन निर्देशन- निर्वाचन आयोग



सैघाली खबर,
काठमाडौँ, ६ मङ्सिर । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारसँग आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा मङ्गलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख आयुक्त यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक एवं आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानुनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले अहिलेको सुरक्षा प्रबन्ध र कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको भए पनि सुरक्षा निकायहरू थप चनाखो भई कार्यक्षेत्रमा खटिनुपर्ने बताउनुभयो । आयुक्त शाहले बैठकमा सुरक्षा प्रबन्धको समीक्षा गरिएको र निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

आयुक्त शाहले भन्नुभयो, “सुरक्षा जनशक्ति पर्याप्त छ, स्रोत र साधन छ, सूचना सङ्कलनका माध्यम पनि प्रभावकारी छन्, त्यसैले निर्वाचन सुरक्षाप्रति हामी ढुक्क छौँ, केही घटनालाई आधार मानेर समग्र सुरक्षा व्यवस्था फितलो भयो भन्न मिल्दैन । ”

आयुक्त शाहले राज्यको उपस्थिति देशभर प्रत्येक स्थानमा रहेको जानकारी दिँदै बिनाडरत्रास, भयरहित वातावरणमा मतदान केन्द्रमा मतदाता पुग्ने र सकुशल फर्कने बताउनुभयो ।  सरकारले आगामी निर्वाचनका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसमेत गरी दुई लाख ७२ हजार जनशक्ति परिचालन भइसकेको जनाएको छ ।

यसैगरी प्रमुख निर्वाचन आयुक्त यादवले ४५ जिल्लामा अनुगमनमा खटिएका सहसचिवलाई घटनास्थलमै समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ । उहाँले अनुगमनकर्तालाई निर्वाचन आयोगलाई भन्दा बढी अधिकार प्रदान गरेर शक्तिशाली बनाएर पठाइएकाले आफ्नो कार्यक्षेत्रमा गएर समस्याको समाधान निर्वाचन कसुर सजाय ऐनअनुसार गर्न निर्देशन दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्