कक्षा ११ र १२ को परीक्षा के सर्न सक्छ ?



काठमाडौं । अहिले विश्वभर कोरोना (कोभिड–१९) को संक्रमणको त्रास फैलिएको छ । चीनबाट सुरु भएको संक्रमण चीनमा कम हुँदै गएपनि हालसम्म १ सय ६२ देशमा पुगिसकेको छ । यूरोपमा यसको महामारी उग्र रुपमा फैलिरहेको अवस्था छ ।

विश्व स्वास्थ्य संगठनले आम जनमानसमा सचेत रहन आग्रह गर्दै ‘विश्वव्यापी महामारी’ को घोषणा समेत गरिसकेको छ । मंगलबार बिहानसम्ममा कोरोनाबाट ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ भने १ लाख ८२ हजार ५ सय ४७ जना संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित नभेटिएपनि त्रास र सावधानी उत्तिकै अपनाइएको अवस्था छ । कोरोनाको संक्रमण रोकथामका लागि केन्द्रदेखि प्रदेशहरुमा आइसीयू बेड व्यवस्था गर्नेदेखि भिडभाड तथा जमघटमा कडाईका साथ रोक लगाउनेसम्मका निर्णय भइसकेको छ ।

त्यस्तै कक्षा ९ सम्मको परीक्षा चैत ५ अर्थात् भोलिसम्म सक्न विद्यालयहरुलाई निर्देशन समेत दिइएको छ । त्यसपछि स्थिति हेरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

त्यसैगरी सुरक्षा अपनाएर चिकित्सकहरुको संलग्नतामा एसईई परीक्षा तोकिएकै समयमा चैत्र ६ गतेदेखि नै सञ्चालन गराउने सरकारको तयारी छ । त्यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तय गरिएका छन् ।

परीक्षा केन्द्रहरूमा प्राथमिक उपचार केन्द्र राख्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मन्त्रिस्तरमा निर्णय भइसकेको छ । निजी, गैरसरकारी, सामुदायिक स्वास्थ्य संस्थाहरूबाट पनि स्वास्थ्य स्वयंसेवक परिचालन गर्न मन्त्रालय लागिरहेको छ । स्थानीय सरकारले विद्यालयमा नियमित अनुगमन समेत गर्ने बताइएको छ ।

परीक्षार्थीहरूले अहिले सेल्फ र होम क्वारेन्टाइनमा बसेर आफ्नो पठनपाठन अगाडि बढाउनु पर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । नियमित हात धुने, मास्क प्रयोग गर्ने, संक्रमणको लक्षण देखिएकाबाट दूरीमा बस्ने, स्वास्थ्य मन्त्रालयबाट जारी हुने निर्देशनहरूको नियमित पालना गर्नेजस्ता सावधानी अपनाउने र विद्यार्थीले आतंकित नभई, सचेत भएर आफ्नो अध्ययन जारी राख्नुपर्ने उनको भनाइ छ ।

सर्न सक्छ कक्षा ११ र १२ को परीक्षा ?

११ र १२ को परीक्षा पनि सर्ने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले जानकारी दिए । कक्षा ११ र १२ को परीक्षा वैशाखमा सुरु हुँदैछ । एक महिनापछि परिस्थिति परिवर्तन हुन सक्ने अनुमान गरिएका कारण ११ र १२ को परीक्षा सर्ने विषयमा हालसम्म कुनै छलफल नभएको उनको भनाइ छ ।

‘कक्षा १० (एसईई) को परीक्षा तोकिएकै समयमा हुन्छ । कक्षा ११ र १२ को परीक्षा पनि तोकिएकै समयमा हुने सम्भावना छ’, अध्यक्ष पौडेलले मकालु खबरसँग भने, ‘अझै एक महिना बाँकी रहेको हुँदा परिस्थिति परिवर्तन हुन सक्ने सम्भावना रहेका कारण कक्षा ११ र १२ को परीक्षा सर्ने विषयमा छलफल र निर्णय भएको छैन ।’

यदि त्यो समयसम्म कोरोना संक्रमण बढ्दै गयो भने त्यो बेलाको परिस्थिति हेरेर सरकारले नै सूचना जारी गरी जानकारी गराउने उनले बताए ।

उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड

सरकारले विश्वभर फैलिएको कोरोना प्रभावलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय समेत गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा आईसीयू वेड बनाउने निर्णय गरेको हो ।

यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी गरिनेछ भने उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने समेत निर्णय भएको छ । जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००–१०० आइसोलेटेड बेड बनाइनेछ ।

त्यसैगरी भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ ।

कोरोना संक्रमणको स्थितिमा जोखिम मोलेर उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीलाई तलबको ७५ प्रतिशत जोखिम भत्ता दिने र कमर्चारीलाई ५० प्रतिशत भत्ता दिने निर्णय समेत गरिएको छ । साथै उनीहरुलाई २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट लगायतका सामग्री दिने पनि निर्णय बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्