एसईई भोलिदेखि ,सबै तयारी पूरा, स्वास्थ्यकर्मीकै उपस्थितिमा हुने



काठमाण्डौ । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ ।

यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय पनिकाले दिएको छ । यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।

परीक्षा केन्द्र एक हजार ९९५
यस पटकको परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्ग्मती प्रदेशमा तय गरिएको छ । विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै
सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था सहित स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाइएको छ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुृरक्षाकर्मी परिचालन गरिने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्