दाङको पाण्डवेश्वर महादेव मन्दिरमा विशेष पूजाबाहेक अन्य कार्यमा रोक



दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरले विशेष पूजाबाहेकका अन्य सबै कार्यमा गर्न रोक लगाएको छ। जिल्लाको मुख्य धार्मिक गन्तव्यका रूपमा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा भीडभाड कम गर्न मन्दिरमा विशेष पूजाबाहेकका अन्य सम्पूर्ण कार्यक्रममा रोक लगाएको हो।

कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेपछि मन्दिर व्यवस्थापन समितिले धारापानीमा विशेष पूजाबाहेकका अन्य कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष गणेशकुमार अधिकारीले विज्ञप्ति निकालेर पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा हुने भीडलाई कम गर्न मन्दिरमा सामूहिक रूपमा ठूलो संख्यामा पूजापाठ तथा घुम्न आउन रोक लगाएको बताएका छन्। त्यस्तै, धारपानीमा पिकनिक, विवाह, लक्ष्यवर्तिका,सामूहिक पूजाको कार्य, मेला, भेलालगायतका सम्पूर्णं कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

समितिले चैत ७ गतेदेखि लागू हुने गरी चैत २९ गतेसम्म सर्वसाधरणका लागि मन्दिरमा सामूहिक पूजाआजा लगायतका कार्यक्रममा रोक लगाएको छ। पाण्डवेश्वर मन्दिर धारापानीमा दैनिक पूजाआजा तथा घुमफिरका लागि ८०० बढी सर्वसाधरण आउने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन्। ‘जिल्लाकै प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेको धारापानीमा पर्यटक तथा दर्शनार्थीहरूको भीडलाई कम गर्न चैतको २९ गतेसम्म सामूहिक कार्यमा रोक लगाइएको छ’,मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले भने, ‘अवस्था सामान्य रहे ३० गतेदेखि कार्यक्रमहरू सुरु हुनेछन्।’

त्यस्तै सचिव आचार्यका अनुसार समितिले चैत ९ गते आइतबारदेखि लागू हुनेगरी एक हप्ताका लागि मन्दिर क्षेत्रभित्र रहेको सम्पूर्ण पसलहरू समेत बन्द गरिने बताए। मन्दिरमा अन्य दैनिक पूजापाठका कार्यहरू भने जारी रहनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्