पूर्व गोर्खा सैनिक राईको कोरोनाभाइरसबाट मृत्यु



लन्डन । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु भएको छ ।
संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्षीय राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।
राई सन् २००८ मा बेलायत आएका थिए । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ ।

अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सान्त्वना दिन पाएका छैनन् ।

संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आइसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।

श्रोत – लन्डन नेपाली न्युज

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्